घरमा २ वटा भन्दा बढि सिलिण्डर ग्याँस नराख्न अनुरोध, अब ग्राहकको विवरण राखिने


काठमाण्डौं ८ चैत : अनावश्यक भण्डारण रोक्न नेपाल ग्यास उद्योग संघले ग्यास किन्ने ग्राहकको विवरण राख्ने व्यवस्था गरेको छ। कोरोना भाइरसको संक्रमणको त्रासले उपभोक्ताले अत्याधिक ग्यास भण्डारण गर्दा बजारमा अभाव भएपछि संघले यो व्यवस्था गरेको हो।

संघका अध्यक्ष गोकुल भण्डारीले भारतबाट जति ग्यास आएपनि अभाव नहटेपछि उपभोक्ताको विवरण राख्ने व्यवस्था गरिएको बताए।  उनका अनुसार बिक्रेताले आफुले बिक्री गरेको ग्यासको संख्या, मौज्दात, उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण सम्वन्धित उद्योगलाई दैनिक रुपमा लिखित जानकारी गराउने व्यवस्था गरिएको छ। ‘यो व्यवस्थाले ग्राहकको पहिचान हुने र एउटै व्यक्तिले धेरै ग्यास लैजान पाउने व्यवस्था समेत रोकिन्छ,’ भण्डारीले भने, ‘यसले दीर्घकालिन रुपमा पनि ग्यास आपूर्तिलाई सहज बनाउन सहयोग पुग्न सक्छ।’

नाकाबन्दीको समयमा समेत सरकारको निर्देशनपछि यस्तै विवरण राख्न खोजिएको थियो। तर यो कार्यान्वयनमा आउन सकेको थिएन्। ग्यास बिक्रेता महासंघ नेपालका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्याल आपूर्ति असहज हुँदा आउने परिस्थिती सामना गर्न अभिलेखिकरण आवश्यक भइसकेको बताउँछन्।

 

प्रकाशित मितिः     ८ चैत्र २०७६, शनिबार ०९:३०  |