नेपाल पत्रकार महासंघ ६५ औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण पत्रकारहरुमा हार्दिक शुभकामना । यति बेला कोरोना भाईरसको संक्रमणबाट बिश्व नै आक्रान्त छ ।
यो बिपत्तीले नेपाललाई पनि छोएको छ । महामारीबाट जोगिन सरकारले हाल पूरै देश लकडाउन गरेको छ । यस्तोे बिषम परिस्थितीमा पनि पत्रकार आचारसंहिता भित्र रहेर आफ्नो पेशागत भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण पत्रकार साथीहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छौँ । तर पेशागत भूमिका निर्वाह गरिरहँदा आफू सुरक्षित रहन हार्दिक अपिल गर्दछौँ ।
यतिबेला कोरोना भाईरसको संक्रमणबाट जोगिन र सरकारले लागु गरेको लकडाउनलाई कार्यान्वयन गर्न काठमाडौं र स्थानीयस्तरबाट प्रकाशित हुने पत्रपत्रिका बन्द गरिएका छन् । अनलाईनको हकमा मोबाईल वा फोनबाट समाचार संकलन गर्न सन्चार माध्यमहरुले आफ्ना संबाददातालाई निर्देशन दिएका छन ।
तर यस्तो बिषम परिस्थितीका बेला पनि बाँकेमा विभिन्न सन्चार माध्यमका नाममा र प्रेसको ज्याकेटको दुरुपयोग गर्दै बिना काममा सवारी साधन चलाउने, चोकचोकमा भिड लगाउने, सेल्फी खिच्ने गरेको सर्वसाधारणहरुबाट जनगुनासो आउने गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा कोरोनाबिरुद्धको तयारी छलफलमा पनि सुरक्षा अधिकारीहरुबाट त्यसैगरी ब्यापक गुनासो आयो ।
त्यसलाई नियन्त्रण गर्न प्रकाशन स्थगन गरिएका पत्रिकाको हकमा पास नदिन, टिभीको हकमा २, अनलाईन र एफएम रेडियो हकमा १/१ जनालाई मात्रै नेपाल पत्रकार महासंघ बाँकेका तर्फबाटै जारी गर्ने गरी सवारी पास उपलब्ध गराउन बैठकले निर्णय गरेको अबगत गराउन चाहान्छौ । तसर्थ अति आवश्यकबाहेक रिपोटिङमा ननिस्किन र सेल्फ क्वारेन्टाईनमा बस्न फेरि पनि आग्रह गर्दछौँ ।
त्यस्तै कोरोनाको आशंकामा १० जनाको स्वाव परिक्षणका लागि शनिबार काठमाडौंबाट आएको नेपाल एयरलाईन्सको जहाज नेपालगन्ज बिमानस्थलमा अवतरण हुने क्रममा रन वे बाहिर गई दुर्घटना भएको घटनाको समाचार संकलनका क्रममा केही पत्रकारहरुले देखाएको व्यवहारले सिंगो प्रेस जगत आलोचना खेप्नु परिरहेको छ । उक्त घटनाको नैतिक जिम्मेवारी लिदै कमीकमजोरी प्रति नेपाल पत्रकार महासंघ बाँके शाखा माफी चाहान्छ ।
उक्त घटनामा आचारसंहिता उल्लंखन गर्ने, कानुन उल्लघंन गर्नेहरुमाथि सम्बन्धित निकायले छानबीन गरे पत्रकार महासंघ बाँकेले सघाउने प्रतिबद्धता जनाउछ । साथै आचारसंहिता भित्रै रहेर पत्रकारिता गर्न आग्रह गर्दछौ । यस्तो विषम परिस्थितीमा पत्रकार आचारसंहिता उल्लंघन गर्नेलाई पत्रकार महासंघको साधारण सदस्यको हकमा बिधान अनुसार कारवाहीका लागि सिफारिस गर्ने र सदस्यता नभएकाको हकमा पत्रकार महासंघको सदस्यता नदिने जानकारी गराउन चाहन्छौँ । तसर्थ पत्रकारिताको आचारसंहिता भित्रै रही समाचार संकलन गरी कोरोनाबिरुद्धको अभियानमा सहयोग गर्न अपील गर्दछौँ ।
धन्यबाद
सचिब
तिलक गाउँले