पश्चिमको सबैभन्दा धेरै आर्थिक गतिविधि हुने शहर हो, नेपालगन्ज । यो शहरलाई आर्थिक हबका रुपमा समेत चिनिन्छ । २०७६ सालमा तिव्रतर आर्थिक गतिविधि भए पनि वर्षको अन्त्यमा भने कोरोनाले संकट निम्त्याएको छ । यी र आर्थिक वर्ष २०७६ आर्थिक गतिविधिका बारे यहाँका उद्योगी, व्यवसायीको छातासंगठन नेपालगन्ज उद्योग वाणिज्य अध्यक्ष अब्दुल वाहिद मन्सुरीसंग समग्र आर्थिक अवस्था र नयाँ योजनाका बारेमा गरिएको कुराकानी यहाँ प्रस्तुत छ,
२०७६ सालमा बाँकेको आर्थिक गतिविधि कस्तो रह्यो ? यहाँले कसरी मुल्यांकन गर्नुभएको छ ?
२०७६ को सुरुवाती चरण बाँकेका लागि राम्रै भए पनि बिश्वभर झैं कोरोनाका कारण समस्या उत्पन्न भएको छ । नेपालगन्ज साविकको मध्य र सुदूरपश्चिमको आर्थिक राजधानीका रुपमा स्थापित छ । अहिले मात्र होइन सदियौंदेखि नै यो शहर पश्चिम नेपालको सबैभन्दा ठूलो आर्थिक केन्द्र हो । हाटबजारदेखि अहिलेको सुपरमार्केटको जमानासम्म आईपुग्दा यो शहर देशभर स्थापित छ । यति हुँदाहुँदै पनि राज्यका तर्फबाट भने हेयको नजरले हेरेको यहाँका जनताको बुझाई रहेको छ । पंचायतकालदेखि नै नजरअन्दाज गर्ने काम हुँदै आयो । पछिल्लो राजनीतिक परिवर्तनले पुरानो त्यो सोंचमा फेर्ने बिश्वास गरिएको थियो । तर झन् निरास बनाएको अवस्था छ । परिवर्तनका लागि नेपालगन्जले पटक पटक ठूलो मुल्य चुकाएको छ ।अहिलेको परिवर्तन आउनमा हामी उद्योगी, व्यवसायीको भूमिका पनि उत्तिकै महत्वपूर्ण भूमिका रह्यो । परिवर्तनमा भूमिका खेलेको नेपालगन्जले ले निरासा बाहेक केही पाएन ।
बिभिन्न आन्दोलन पश्चात देशमा नयाँ संविधान जारी भई तीन तहका सरकार बनेर राज्य पुर्नसंरचनामा परिवर्तन भएको अवस्था छ । यसले देशमा बेग्लै उत्साह थपेको छ,तर बद्लिएको परिस्थितीले नेपालगन्जलाई सन्तुष्ट पार्न सकिरहेको छैन । राज्यपुर्नसंरचनाले बाँकेलाई पछि धकेली रहेको भन्दै बिभिन्न क्षेत्रबाट चिन्ता र चासो व्यक्त भइरहेका छन् । यो चासो र चिन्ता जायज पनि छ । यद्यपी आर्थिकरुपमा भने २०७६ बाँकेका लागि सन्तोषक जनक नै थियो । वर्षको अन्त्यतिर र अहिले पनि हामी कोरोनाका कारण नराम्रो गरी प्रभावित भएका छौं । यसको मार अझै पर्ने देखिन्छ । हाम्रो आर्थिक गतिलाई कोरोनाले ब्रेक लगाएको छ । तर फेरी पनि यो महामारीको अन्त्य भई आर्थिक गतिविधि चलायमान हुने छौं भन्ने बिश्वास लिएका छौं ।
कोरोनाका कारण उत्पन्न भएका व्यवसायी समस्या र समाधान के हो ?
कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि मुलुक लगातार लकडाउनमा जानुपरेका कारण उद्योग, व्यापार तथा व्यवसाय सम्पूर्ण ठप्प रहेको र लकडाउन पश्चात् कम्पनी तथा फर्म खुले पनि नगद प्रवाहको व्यवस्थापन गर्न कम्पनी तथा फर्मलाई अत्यन्त चुनैतीपूर्ण हुने छ ।
पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको लागि २०७६ चैत्र महिनादेखि कर्मचारी तथा कामदारको एक वर्षको तलब, ज्याला भुक्तानीका लागि कम्पनी तथा फर्म ९प्रतिष्ठान०ले दुई प्रतिशत व्याज दरमा ऋण प्राप्त गर्ने गरी पुनर्कर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दीमा दुई वर्षभित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने देखिन्छ । अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म ९प्रतिष्ठान० हरूले २०७६ चैत्र महिनादेखि कर्मचारी तथा कामदारको छ महिनाको तलब, ज्याला भुक्तानीका लागि दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुनर्कर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दीमा एक वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने तर्फ लाग्ने भनेर नेपाल उद्योग वाणिज्य महासंघले भनिसकेको छ ।
बैंकको ब्याज लागतलाई न्यूनीकरण गर्न पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको कम्पनी तथा फर्म ९प्रतिष्ठान० को एक वर्षको व्याज दुई प्रतिशत ब्याज दरमा हुनेगरी पुनर्कर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दीमा दुई वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने जस्ता मुद्दा महासंघले अघि सारेको छ ।
यहाँले अघि सार्ने कार्ययोजना कहिले सार्वजनिक हुन्छ ?
कार्ययोजना सार्वजनिक गर्ने योजना बन्दै गर्दा अहिलेको संकट आयो । त्यो योजना पुरा भएको छैन । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा सारथी बनेका उद्योगी, व्यवसायीहरुको आस्थाको केन्द्र नेपालगन्ज उद्योगी वाणिज्य संघ अहिले देशकै नमूना उद्योग वाणिज्य संघका रुपमा स्थापित छ । वर्षौदेखि यस संघले व्यवसायीक हित र सामाजिक आन्दोलनको अगुवाई गर्दै आएको कुरा सर्वविदितै छ । उद्योगी, व्यवसायीको हकहित मात्र होइन सामाजिक परिवर्तनका मुद्दामा समेत हामी निरन्तर सक्रिय छौं । राज्यको पुर्नसंरचनासंगै बनेका स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मका नीति निर्माताहरुलाई व्यवसायीक र बाँकेबासीको हितमा सदैव झक्झक्याउने काम गर्दै आएका छौं ।
देशमा राजनीतिक स्थिरता आएता पनि उद्योग, व्यवसाय क्षेत्रका धेरै मुद्दाहरु सम्बोधन हुन सकेका छैनन् । उद्योगी, व्यवसायीका थुप्रै समस्या सतहमा देखिएका छन् । लगानीमैत्री वातावरणका लागि कानुनी झण्झट झेल्नुपरिरहेको अवस्था छ । व्यवसायीलाई बिभिन्न बाहनामा राज्यका निकायबाट दुःख दिने काम भइरहेको छ । बैंकको अस्थिर ब्याजदरले उद्योगी, व्यवसायीको उठिबास भएको छ । त्यसको प्रत्यक्ष प्रभाव रोजगारीमा परेको छ भने हजारौ युवाहरु कामको खोजिमा बिदेश भौतारि रहनुपरेको छ ।
खुल्ला सिमाका कारण नेपालगन्जको व्यवसाय धरमर भइरहेको अवस्था छ । यो हाम्रा लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको छ भने अर्कोतर्फ सरकारले ल्याएका नयाँ कर प्रणालीहरु अव्यवहारिक र झञ्झटिलो बन्दा उद्योगी, व्यवसायी मर्कामा परेका छन् । यस्तो परिस्थितीमा सिङ्गो बाँके र यहाँका उद्योगी, व्यवसायीको सारथी बन्ने जिम्मेवारी दिनुभएकोमा सर्बप्रथम सम्पूर्ण मतदाता उद्योगी, व्यवसायीमा अनुरोध छ । उद्योगी, व्यवसायीले हामीलाई दिनुभएको जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्दैनौं ।
नेपालगन्जलाई आर्थिक हब बनाउन के गर्नुहुन्छ ?
नेपालगन्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा स्थापित हुँदा हुँदै पनिअपेक्षाकृत उद्योगको संख्या बढ्नसकेको छैन । यद्यपी अहिले बाँकेका लगानीकर्ताको आर्कषण बढेको छ । यो खुःसीको कुरा हो । नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकिकृत भन्सार चेकपोष्ट रेलमार्ग बिस्तार, नौवस्ता औद्योगक क्षेत्र, बिशेष आर्थिक क्षेत्र ‘सेज’ जस्ता योजना कार्यान्वयनको चरणमा रहेका बेला आगामी दिनमा यहाँ सानादेखि ठूला लगानीका उद्योग, करकारखाना स्थापना हुने प्रशस्त सम्भावना छ । यसका लागि लगानीकर्तालाई आर्कषित गर्न हाम्रो पहलकदमी पनि आवश्यक देखिन्छ । तसर्थ देश÷बिदेशका लगानीकर्तालाई बाँकेमा आकर्षित गर्नस्पष्ट योजना सहित ‘लगानी सम्मेलन’, अन्र्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी जस्ता बिषयगत मेला आयोजना गर्ने प्रतिवद्धता जनाउँदछौं ।लगानी बोर्डलाई आह्वान गरी बिज्ञ समूह मार्फत त्यसको स्पष्ट खाका निकट भविष्यमै निर्धारण गर्नेछौं । लगानीसम्मेलन र कृषि तथा औद्योगिक प्रदर्शनीले बाँकेमा लगानी गर्नका लागि राज्य र लगानीकर्ताको ध्यानयसतर्फ खिच्ने छौं ।
जिल्लाको पर्यटनको विकासमा कस्तो भूमिका खेल्नुहुन्छ ?
पछिल्लो समय बाँकेको पर्यटन उद्योगमा पनि ठूलो लगानी भित्रिएको छ ।तारे होटल , चिल्डे«न पार्क, होमस्टे जस्ता क्षेत्रमा उत्साह जनक लगानी भए पनि पर्यटन क्षेत्रको स्पष्ट रणनीति नहुँदा लगानीकर्ता आफ्नो भविष्य अनिश्चित बन्ने हो की भन्ने निरासा व्यक्त गरिरहेका छन् ।व्यवसायीहरुकोनिरासालाई आशामा बदल्न र पर्यटन क्षेत्रमा उत्साह जगाउन निजी क्षेत्रको तर्फबाट प्रभावकारी काम गराउन पहल गरिने छ । नेपालभ्रमण वर्ष २०२० शुरु भइसकेको अवस्थामा पर्यटन क्षेत्रको प्रचार प्रसारमा ध्यान दिने, पूर्वाधारहरु जस्तै नेपालगन्ज– दिल्ली उडान, नेपालगन्ज पोखरा उडान, नेपालगन्ज–मुगु नियमित उडान गराउन, मानसरोवर जाने रुटलाई स्थायी बनाउन नेपालगन्ज हिल्सा सडक मार्गलाईस्तरोन्नती गर्न सम्बन्धित निकायमा पहल गर्दै नेपालगन्जलाई पश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापितगराउन सम्बन्धित निकायसंग पहल गर्नेछौं ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अत्त्यमा सम्पूर्ण बाँकेबासी दाजुभाईलाई नयाँ वर्षको शुभकामना । निरास भएर मात्र भएर यो शहरलाई अगाडी बढाउनका लागि हामी सबै जुट्नुपर्ने बेला आएको छ । यसका लागि सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, बाँकेबासी दाजुभाई एक भएर अगाडी बढ्नुपर्छ । त्यसका लागि निजीक्षेत्रको तर्फबाट हामी निरन्तर लागिपर्छौ ।