३ लाख ६५ हजार लिटर दूध उत्पादन गर्ने सानो गाउँको ठूलो योजना !


गुर्भाकोट ( सुर्खेत) १४ बैशाख : पारेखेत –सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–४ मा रहेको एउटा सानो गाउँ ! यही सानो गाउँले वार्षिक तीन लाख ६५ हजार लिटर दूध संकलन गर्ने योजना बनाएको छ ।

सोही योजना सम्पन्न गर्न यतिबेला स्थानीय जुटिरहेको पारेखेत कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष महेश ओली बताउँछन् ।
‘पारेखेतलाई दूध उत्पादनका क्षेत्रमा चिनाउन खोज्दै छौं ।’ ओली भन्छन्—‘एउटा सानो गाउँले पशुपालनका क्षेत्रमा अब्बल काम गर्न सक्छ भन्ने सन्देश प्रवाह गरेर देखाउँछौं ।’

२०७५ साल भाद्र ५ गते उक्त कृषि सहकारी स्थापना भए पछि स्थानीय कृषकले दूध संकलन गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७५/०७७ मा ४८ हजार लिटर दुध संकलन गरी विक्रिवितरण गरिसकेको उक्त सहकारीका सचिव हस्तबहादुर डाँगीले बताए ।

डाँगीका अनुसार, सहकारीका सदस्य एवं त्यस क्षेत्रका कृषकहरुले उत्पादन गरेको दुध संकलन गरी विरेन्द्रनगर, खुद्रा व्यापारी हरुलाई विक्री वितरण गर्दै आइरहेका छन् ।

सहकारीले आºनो दुध संकलन कार्यलाई अझ व्यवस्थित तथा विस्तार गर्नका लागि दुध चिसान केन्द्र निमार्ण गर्दै छन् । पशु पन्छी विकाश निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले यसका लागि रु ३४ लाख सहयोग दिने भएको छ ।

उक्त सहयोगबाट चिलिमभ्याट ,क्यान , जेनेरेटर ,मिल्क एनालाइजर मेसिन खरीद गरिने छ । ‘यो व्यवसायिक योजना निर्माण भए पश्चात क्षेत्रका कृषकहरुलाई पशुपालनमा अझ उत्साहित बनाई उनिहरुले उत्पालन गरेको करिब ३ लाख ६५ हजार लिटर दुध संकलन गरी विक्रि वितरण गर्ने लक्ष्य यो सहकारीको रहेको छ ।’– अध्यक्ष ओलीले भने ।

पारेखेतमा पहिलो पटक फर्म दर्ता गरी व्यवसायीकरुपमा भैसीपालन गर्दै आएका ज्ञानबहादुर डाँगीले चिस्यानकेन्द्र निर्माणले यस क्षेत्रकै कृषकलाई राहत दिने बताए । उनले भने,–‘दूधको भण्डारण र विक्री वितरणका लागि सहज हुने भयो ।’

अगुवा पशुपालक कृषक डाँगीले सरकारी निकायले अझै प्रोत्साहन गर्दै जाने हो भने दूधमा आत्मनिर्भर बन्ने कर्णाली प्रदेश सरकारको योजना पारेखेतले पुरा गर्ने बताए ।

उनी भन्छन्,–‘जनप्रतिनिधिहरुले यस विषयमा सहयोग गर्नुभएकै छ । तर आगामी दिनमा हाम्रो लक्ष्यलाई साकार पार्न पशुपालनमा सहुलियत दिने योजना ल्याउनुपर्छ ।’

प्रकाशित मितिः     १४ बैशाख २०७७, आईतवार १६:१०  |