नेपालगन्जका कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोज्दै प्रशासन


बाँके १९ बैशाख :  नेपालगन्जमा भेटिएका कोरोना संक्रमितलाई भर्ना गर्न आइसोलेशन अस्पताल खजुरामा लगिदै छ । जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले शुक्रवार तीन बजे दिएको जानकारी अनुसार, संक्रमित व्यक्तिलाई सुरक्षा उपाय अपनाएर खजुरा लगिदै छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक सिडिओ एवं सूचना अधिकारी दिर्घराज उपाध्यायका अनुसार, शुक्रवार ती व्यक्तिलाई आइसोलेशनमा भर्ना गरिएको हो ।

ती व्यक्ति ट्राभल हिस्ट्री खोज्न शुरु गरिएको उपाध्यायले बताए । उनले भने,–‘उहाँ कुन ठाउँबाट आउनुभएको थियो र कहाँ कहाँ जानु भयो भन्ने ट्रेसिङ्ग गर्न शुरु गरिएको छ ।’

नेपालगन्जमा गरिएको धार्मिक संस्थामा बस्नेहरुको स्वाब टेष्टका क्रममा गरिएका ११ वटा नमूना संकलन मध्ये एक जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमित भएका भारतबाट फर्किएका हुन वा स्थानीय हुन भन्ने खोजि भइरहेको छ ।

प्रकाशित मितिः     १९ बैशाख २०७७, शुक्रबार १५:२६  |