असामान्य अवस्थाका कारण बाँकेका उद्योग तत्काल खोल्न कठिनाई


नेपालगन्ज २७ बैशाख : सरकारले बैशाख २६ गतेबाट ४४ प्रकारका उद्योग सन्चालन गर्ने अनुमति दिएपनि बिशिष्ट परिस्थितीका कारण बाँकेमा भने तत्काल उद्योग खोल्न असम्भव भएको छ ।

नेपालगन्जमा २४ जनामा कोरोना संक्रमण देखिएको र उनीहरुको संगतमा रहेकाहरुको पनि परीक्षण भइरहेका छ । यस्तो बेला अन्य सामान्य अवस्थाका जिल्लाको जस्तो गरी उद्योग सन्चालन गर्ने अनुमति नदिने जिल्ला प्रशासन कार्यालय बाँकेले स्पष्ट पारेको छ । सरकारले उद्योग सन्चालन गर्ने निर्णय गर्दा पनि कोरोना देखिएका जिल्लाको अवस्था मुल्यांकन गरेर अनुमति दिने वा नदिने निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

‘बाँकेमा कोरोना अवस्था कस्तो छ भन्ने सबैलाई थाहा छ । अझ उच्च सतर्कता अपनाएर काम गर्नुपर्ने बेला उद्योग, कलकारखाना सन्चालन गर्न अनुमति दिने अवस्था तत्काल छैन । अवस्था सामान्य भयो भने त कसैले रोक्ने कुरा भएन ।’– बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दिर्घराज उपाध्यायले भने ।

पश्चिम नेपालको आर्थिक राजधानी नेपालगन्जमा लामो समयदेखिको लकडाउनका कारण उद्योग, कलकारखाना ठप्प छन् । ठूलो आर्थिक क्षती व्यहोरिरहेको अवस्थामा सरकारले उद्योग सन्चालन गर्न अनुमति दिए पनि कोरोनाको कहरका कारण उद्योग सन्चालन गर्ने वातावरण नबन्दा उद्योगी निरास छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले सरकारले उद्योग सन्चालनको अनुमति दिएपछि बाँकेका उद्योग सन्चालन कसरी गर्न सकिन्छ भनेर आफुहरुले समन्वय गरिरहेको बताउँछन् । उनी भन्छन्,–‘यो निर्णय आइसकेपछि हामीले सरोकारवाला निकायसंग समन्वय गरेर उद्योग चलाउन सकिने बारेमा छलफल गरेका थियौं । तर यहाँको बिशिष्ट परिस्थितीका कारण केही दिनसम्म अझै उद्योग खोल्ने अवस्था देखिएन ।’

बाँकेमा सिक्टा सिंचाई आयोजना, हुलाकी सडक जस्ता राष्ट्रिय गौरबका आयोजनाका लागि भने काम गर्ने अनमुति दिएको छ । ती आयोजनाका लागि आवश्यक पर्ने निमार्ण सामाग्री उत्पादन गर्ने उद्योग र उत्पादन भएका सामाग्री विक्री वितरण गर्ने डिपो सन्चालनको अवस्था भने यतिबेला बाँकेमा बन्न सकेको छैन्।

प्रकाशित मितिः     8:16:27 AM  |