भारतको रणनीतिले नेपालगन्ज -हिल्सा मानसरोवर रुट प्रभावित हुने चिन्ता


नेपालगन्ज २७ बैशाख : भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी बाएको बाटो हुँदै कैलाश मानसरोवर जाने रुट तय गरेपछि नेपालगन्ज र कर्णालीको पर्यटन उद्योग प्रभावित हुने भएको छ ।

हुँदै मानसरोवर जाने यात्रु घट्दा हुम्ला -सिमीकोट हवाई रुटमा सेवा दिइरहेका वायुसेवा कम्पनी पनि प्रभावित हुने छ। सिजनमा पर्यटक बोकेर हिल्साम्म पुग्ने नेपाली हेलिकोप्टरहरूले पनि आम्दानी गुमाउनुपर्नेछ । करिब ७ वटा हेलिकोप्टेर कम्पनीले मानसरोवर जाने यात्रु बोक्ने गरेका छन्।

नेपालगञ्जबाट सिमीकोटमा विमानबाट आउजाउ गर्ने पर्यटकले करिब २५ हजार खर्चन्छन् । हेलिकप्टर चार्टर गर्नेले प्रतिव्यक्ति ४० हजारसम्म खर्च गर्ने गरेका छन् ।

व्यवसायीका अनुसार मानसरोवर जान आएका एक जना यात्रुले तीन हजारदेखि ४५ सय डलर (साढे ३ लाखदेखि साढे ५ लाखसम्म० खर्च गर्छन् । जसको ३० प्रतिशत रकम नेपालमा नै खर्च हुने अनुमान छ । हेलिकप्टरबाट यात्रा गर्नेले ६० प्रतिशतसम्म खर्च नेपालमै गर्ने गरेको व्यवसायीहरू बताउँछन् । ६० डलर नेपाल सरकारको खातामा ट्रेकिङ शुल्कबापत जम्मा हुन्छ ।

नेपालमा थुप्रै ट्रेकिङ तथा ट्राभल एजेन्सीको मुख्य आर्थिक स्रोत मानसरोवरका यात्रीहरू हुन् । त्यस्ता एजेन्सीहरूलाई पनि भारतले खोलेको नयाँ मार्गले प्रभावित गर्ने सम्भावना छ ।

मानसरोवर जाने भारतीय निकै खर्चालु पर्यटक हुन् । उनीहरूले यहाँ होटल, क्यासिनोलगायतमा पनि खर्च गर्छन्  । जानुअघि केही दिन र गएर फर्किएपछि केही दिन नेपालमै रमाउँछन् । मानसरोवर जाने तिर्थयात्रीकै कारण नेपालगन्ज र कर्णालीमा ठूलो लगानीका होटल सन्चालनमा छन् । ती होटलहरु प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

व्यवसायीको प्रश्न-पूर्वाधारमा लगानी खोई ?

यस्ता महत्वपूर्ण पर्यटकहरू गुम्न नदिन सरकारले उचित पहलकदमी लिनुपर्ने माग व्यवसायीहरूको छ । एसोसियसन अफ कैलाश मानसरोवर ट्राभल एन्ड टे्रेकिङ एजेन्ट अपरेटर्स नेपालका पूर्वअध्यक्ष तेन्जिन नोर्बु लामा नेपाल सरकारले पूर्वाधार निर्माणको काम यस्तै गतिले गर्ने हो भने ढिलो चाँडो मानसरोवर जाने सबै भारतीय यात्रु गुमाउनुपर्ने बताउँछन् ।

‘सन् १९९३ मा हिल्साको नाका खुलेको हो । तर, हामीले हिल्सा जोड्ने राम्रो सडक अझै बनाउन सकेनौं,’ उनले  भने, ‘१९६० बाट तातोपानी खुलेको, त्यसको पनि हालत त्यही छ । त्यसैले सडक पूर्वाधार नै नबनाएपछि अरूले फाइदा लिन सहज छ ।’

सरकारले स्तरीय सडकमार्ग बनाए निजी क्षेत्रकै लगानीमा होटलहरू खुल्ने र पर्यटकीय गतिविधि झाँगिने उनको भनाइ छ । तर, अहिलेसम्म नेपालले भारतबाट बाटो नखुलेको लाभ मात्रै लिने तर आफू केही नगर्ने गर्दा भविष्य चुनौतीपूर्ण हुने अवस्था आएको उनको बताए । ‘हाम्रो पूर्वाधार राम्रो भयो भने भारतीयले पनि हाम्रै बाटो रोज्न सक्छन्,’ उनले भने,’अब भारतले खुलेकै बाटोबाट गाडी चलाएर मानरोवर पुग्ने अवस्था आयो भने भारतीयहरू किन नेपाल आउलान् ?’

नेपालले सडकमार्ग सुधार गरेर पर्यटकीय पूर्वाधार विकास गरे वर्षमा १० लाख भारतीय पर्यटक नेपालको बाटो भएर तिब्बतको कैलाश मानसरोवरसम्म जाने अवस्था आउने उनको विश्लेषण छ ।

प्रकाशित मितिः     7:00:17 PM  |