कोरोना बिरुद्ध यसरी ‘लड्दै’ छन् नेपालगन्जका धर्मगुरु


नेपालगन्जका धर्मगुरुका साथमा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापमगर ।

नेपालगन्ज २८ बैशाख : नेपालगन्जका धर्मगुरुहरु आ–आफ्नो धार्मिक काममा मात्र सिमित छैनन् । सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइरस बिरुद्धको अभियानमा नेपालगन्जका सर्वसाधारणलाई सचेत गराउन हिन्दु, ईस्लाम, शिख, बौद्ध र ईसाई धर्मका गुरुहरु अग्रमोर्चामै सक्रिय छन् ।

बिभिन्न धार्मिक सम्प्रदायको बसोबास रहेको नेपालगन्जमा महामारीका विषयमा रहेको अनभिज्ञतालाई हटाउन धर्म गुरुको भूमिका महत्वपूर्ण रहँदै आएको छ । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले धर्म गुरुको भूमिका अहिले निकै महत्वपूर्ण रहेको बताउछिन् ।

थापा भन्छिन्,–‘उहाँहरु हामीहरुसंगै कोरोना बिरुद्ध लडिरहनुभएको छ । समाजलाई सचेत गराउन उहाँहरुले खेलेको भूमिका अतुलनिय छ ।’ मन्दिर, मस्जिदमा पुगेर स्वाब परीक्षण गराउन धर्म गुरुहरुको भूमिका महत्वपूर्ण रहेको छ । स्वाब परीक्षण गरिएपछि नेपालगन्जमा २४ जनालाई कोरोना संक्रमण देखिएको थियो । परीक्षण नगरिएको भए अवस्था अझ भयावह हुने चिकित्सकहरु बताउँछन् ।

धर्म गुरुहरु आफै नागरिकलाई सचेत गराउँदै हिडेपछि अन्धबिश्वासका नाममा स्वास्थ्यकर्मीलाई असहयोग गर्ने वातावरण पनि अन्त्य भएको छ । ‘नेपालगन्ज धार्मिक सम्प्रदायको मामलामा निकै राम्रो मानिन्छ । धर्मगुरुहरु नै हातेमालो गरेर हिड् पछि आमनगारिकहरुले त्यसको अनुशरण गरिरहेका छन् ।’– मुस्लिम समुदायका अगुवा समेत रहेका नेकपाका केन्द्रीय सदस्य मोहमद हारुन बताउँछन् ।

धर्मगुरुहरु एकअर्काका धर्म बिरुद्ध हुने अनावश्यक प्रचारबाजी बिरुद्ध डटेर लाग्छन् । बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगीले मुस्लिम समुदाय बिरुद्ध भएका अनावश्यक टिप्पणीका बिरुद्धमा जमेर आफ्ना कुरा राखेका थिए । उनले कोरोना संक्रमणका नाममा कुनै धर्म सम्प्रदायलाई जोडेर अनावश्यक हल्ला फैलाउन बन्द गर्न चेतावनी नै दिए । उनको यो भनाईले पनि धर्म गुरुहरु अहिलेको महामारीप्रति कति सजग र सचेत छन् भन्ने देखाउँछ ।

नेपालगन्जलाई सद्भावको शहर भनिन्छ । यद्यपी केही तत्वले कहिलेकाही सद्भाव बिथोल्न खोज्छन् । त्यस्तो अवस्था आउन नदिन अन्तर धार्मिक सन्जाल बनाएर धर्म गुरुहरु सद्भाव फैलाउन सक्रिय छन् । उनीहरु बालबिवाह रोक्नदेखि धेरै सामाजिक काममा सक्रिय हुँदै आएका छन् । सामाजिक काममा आपत्त बिपद् पर्दा धर्मगुरुहरुलाई बोलाइन्छ । कुनै नाईनास्ती नगरी उनीहरु काममा सक्रिय हुन्छन् ।

प्रकाशित मितिः     २८ बैशाख २०७७, आईतवार १०:०५  |