कर्णालीका घरेलु उद्योगमा कोरोनाले पारेको प्रभाव बारे छलफल, बिशेष राहत प्याकेज ल्याउन आग्रह


सुर्खेत ५ जेठ : घरेलु तथा साना उद्योग महासंघ सुर्खेतले कोरोना प्रभावित उद्यमीलाई सहयोग पुर्याउने उदेश्यले बिपद् कोष गठन गर्ने विषयमा छलफल भएको छ ।

सोमबार बसेको भर्जुअल बैठकमा कोरोना सुर्खेतका घरेलु तथा साना उद्योगलाई पारेको प्रभावका विषयमा गहन अन्तरक्रिया र विपद् कोष निर्माण गर्ने विषयमा छलफल भएको अध्यक्ष सुमननाथ योगीले बताए ।

योगीका अनुसार, कोषमा उद्यमीले सहयोग संकलन गर्ने र समस्या परेका व्यवसायीलाई सहयोग गर्ने गरी परिचालन गर्ने उदेशय राखिएको छ ।

छलफलमा घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर बिसीले घरेलुमा आधारित रहेको कर्णालीको उद्योग व्यवसाय चौपट भएको बताएका छन् । उनले उद्योग खोल्ने नीति व्यवहारिकरुपमा कार्यान्वयन हुन नसकेको जनाए ।

कच्चा पदार्थको अभावमा उउत्पादन गर्न नसकिएको र उत्पादन भइहाले पनि बजार पठाउन समस्या भएको जानकारी दिए । महिला उद्यमी समितिको प्रदेश महासचिव गोमा ओलीले सरकारले साना उद्योगलाई जोगाउन बिशेष राहत प्याकेज ल्याउनुपर्ने बताइन ।

महासंघ सुर्खेतका अध्यक्ष योगीले व्यवसायीका समस्या निराकरणका लागि सरोकारवाला निकायको ध्यानार्कषण गराइने बताएका छन् । उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकारले घरेलु तथा साना उद्योगलाई कोरोनाबाट जोगाउन पहल गर्नुपर्ने बताए ।

प्रकाशित मितिः     4:18:53 PM  |