४७ जना नयाँ संक्रमितलाई राख्न नरैनापुरमा आइसोलेशनमा राख्ने तयारी


बाँके ५ जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा सोमवार थपिएका ४७ जना कोरोना संक्रमितलाई स्थानीय लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमै राखिने भएको छ ।

उक्त अस्पताललाई आइसोलेसनको रुपमा स्थापना गरेर त्यही राख्ने निर्णय भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए ।

त्यसका लागि नेपालगन्जका वेष्र्टन अस्पतालले २५ वेड निःशूल्क उपलब्ध गराएको छ । अन्य निजी अस्पतालहरुले पनि निःशूल्क बेड उपलब्ध गराउने प्रतिबद्धता जनाएक छन् ।

उक्त पालिकामा यसअघि ८ जना संक्रमित फेला परेका थिए । उनीहरुलाई दाङको बेलझुण्डी कोरोना अस्पतालमा राखिएको छ । कोरोनाबाट नरैनापुरमा एकजना युवाको मृत्यु भइसकेको छ ।

बाँकेमा मात्र संक्रमितको संख्या ८१ पुगेको छ । उपाध्यायका अनुसार, नरैनापुरमै आइसोलेशन व्यवस्थापन गर्नका लागि आवश्यक सामाग्रीको जोहो गरिरहेको बताए ।

बाँकेमा कोरोनाको कारण एक जनाको मृत्यु भइसकेको छ । ८० जना संक्रमित छन् । संक्रमित मध्ये २५ जना नेपालगन्जका र बाँकी नरैनापुर गाउँपालिकाका रहेका छन् ।

नरैनापुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयले नरैनापुरमै आइसोलेशन कक्ष निर्माण गर्न माग गरेका थिए । सोही कारणले पनि स्थानीय प्रशासनले नरैनापुरमा रातरात आइसोलेशन बनाउन लागेको हो ।

नरैनापुर स्वास्थ्य चौकीमा सूविधा सम्पन्न भवन त छ तर चिकित्सक लगायतका स्वास्थ्यकर्मीको व्यवस्थापन भने चुनौतीपूर्ण हुने देखिएको छ ।

प्रकाशित मितिः     ५ जेष्ठ २०७७, सोमबार १९:२६  |