बाँके १० जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना संक्रमितका कारण एक जना युवकको मृत्यु भइसकेको छ ।
८१ जना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले रेड जोन घोषणा गरी सम्पूर्ण आवात जावत बन्द गरेको अवस्थामा संक्रमितलाई आइसोलेशनमा ल्याउन गएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स माथि पटक पकट अवरोध सिर्जना भइरहेको छ ।
शुक्रवार राती क्वारेन्टाइनबाट १३ जना संक्रमित आइसोलेसन अस्पताल ल्याउने प्रयासलाई अबरोध गरियो ।
एम्बुलेन्सलाई बाटोमैं अवरोध गरिंदा नरैनापुर गाउँपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय संकरनगर कोटियाको क्वारेन्टाइनबाट संक्रमित भागेको आशंका गरिएको छ ।
आइसोलेशनमा लैजानका लागि नेपालगन्जबाट पुगेको एम्बुलेन्सलाई अवरोध गरि गाउँका ब्यक्तिहरुले संक्रमितलाई संगै लिएर भागेका आशंका गरिएको छ । यद्यपी यसको अनुसन्धान भइरहेको छ ।
व्यापक खोजतलासपछि आज विहान मात्र भेटिएका उनलाई अहिले नेपालगञ्जतर्फ ल्याइँदै गरेको बाँकेका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताउनुभयो । स्थानीयले एम्बुलेन्स घेराउ गरेर क्वारेन्टाइनबाटै संक्रमितलाई भगाएका थिए । ती मध्ये १२ जनालाई नियन्त्रणमा लिएर नेपालगञ्ज ल्याइए पनि एक जना भागेकालाई पक्राउ गर्न सकिएको थिएन ।
सीमाबाट भारततर्फ भाग्दै गरेका उनलाई विहान नियन्त्रणमा लिइएको सिंहले जानकारी दिनुभयो ।

जहाँ सबैभन्दा धेरै कोरोनाको संक्रमण छ त्यही ठाउँमा पटक पकट अवरोध भएपछि अवस्था आगामी दिनमा झन् भयावह हुने देखिन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले नरैनापुर घटनालाई संकेत गर्दै सामाजिक सन्जालमा लेखेका छन्, –
कठिन परिस्थिति बिच आफु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत अन्य रास्ट्रसेबकहरुलाइ जोखिममा राखेर बाँकेCCMC को नेतृत्वमा COvid-19 केस पत्ता लगाँउदै ब्यवस्थापन गर्न खोज्दा बिरामी लाई क्वारेन्टाइनबाट आइसोलेसन सेन्टर र अस्पताल सम्म ल्याउन सबैको साथ नपाउँदा रोग नियन्त्रण गर्न खोज्दै छौ कि समुदायमा फैलाउन ? सरोकारवाला हरूले एकचोटी सोच्ने बेला आएको छ ।
नरैनापुरका स्थानीय पत्रकार गुरमुरत यादव कोरोनाको कहरमा राजनीति नगर्न सुझाउँदै लेख्छन्-
नरैनापुरका युवा र नागरिक समाजका अगुवा दाजुभाईहरू वडा अनुसार समिति नै बनाएर कोरोना रोकथाममा पुलिस प्रशासनलाई सहयोग गर्न अगाडि आउ,बाँच्यो भने राजनीति पछि गरौला ।