पूर्व राजाको तस्वीरयुक्त नोटलाई चलनचल्तीको लागि नपठाउन बैंकलाई निर्देशन


नेपालगन्ज ११ जेठ :  नेपाल राष्ट्र बैकले सफा नोट नीतिलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैकले सफा नोट नीति कार्यान्वयनमा ल्याउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

राष्ट्र बैकको निर्देशन यस प्रकार छ :

१. बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएम लगायतका मेसिनहरुको माध्यमबाट चलाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी नोटलाई तीन वर्गमा छुट्याउनु पर्नेछ।

२. एटिएमलगायतका मेसिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको स्लिप प्रयोग गर्नुपर्नेछ।

३. काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ।

४. चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ।

५. बुँदा नं २, ३, ४ मा उल्लेखित स्लिपहरुमा बैंक तथा वित्तीय संस्थाको नाम, कार्यालय शाखाको नाम, छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम, कर्मचारीको परिचय नम्बर, सही र मिती अनिवार्यरुपमा उल्लेख गर्नुु पर्ने छ ।

६.नोटमा स्टीचको प्रयोग गर्नु हुँदैन । यसमा आवश्यक्त अनुसार रबर, प्लाष्टिक पेपर बैण्ड आदि प्रयोग गर्न सकिने छ । साथै नोटमा नलेख्ने, केरमेट नगार्ने हिफाजत गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

७. झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रनेगरी रंग लागेको लेखिएको कोरिएको मेटिएको च्यातिएको वा पूर्व राजाको तस्वीर अंकित भएको नोटलाई पुन निष्काशन अयोग्य नोटकोरुपमा वर्गीकरण गर्नुपर्ने छ । र त्यस्ता नोटलाई चलनचल्तीको लागि पठाउनु हुदैन ।

चलनचल्तीमा पठाउन अयोग्य नोट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा ९नोटकोष वा नेपाल राष्ट्र बैकमा पहुँच नहुने वित्तीय संस्थाहरुले० र अन्य बैंक तथा वित्तीय संस्थाले नोटकोष वा नेपाल राष्ट्र बैकमा नै जम्मा गर्नुपर्ने छ ।

८. भुक्तनी गर्दा वा सटही सुविधा उपलब्ध गराउँदा माथि उल्लेखित बुँदा नं. २ र ३ बमोजिमका चलनचल्तीमा पठाउन योग्य नोट मात्र प्रयोग गर्नुपर्ने छ । यसरी भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरस रहित गर्नुपर्नेछ ।

९. नोट राख्ने दराज, फर्निचर, भल्ट, नोट ओसारपसार गर्ने सामाग्री सफा हुनुपर्नेछ । साथै, नोट भण्डारण गर्ने ढुकुटी र कारोबार गर्ने कक्षहरुमा यथोचित प्रकाश एवम् आदिको प्रयोग गरी पर्याप्त हावाको व्यवस्था भएको हुनुपर्नेछ ।

प्रकाशित मितिः     ११ जेष्ठ २०७७, आईतवार १९:४६  |