अब हरित खजुरा


बाँके : बाँकेको खजुरा गाउँपालिका देशमै हरित स्थानीय तहका रुपमा परिचित हुुँदै छ ।

अध्यक्ष किस्मतकुमार कक्षपतिले केही महिना अघि ‘हरित खजुरा प्रोजेक्ट’ का लागि उज्वेकिस्तानमा यस सम्बन्धीमा सम्झौता गरे ।

त्यसलगत्तै प्रोजेक्टले औपचारिकता पायो ।

खजुरालाई कृषिमा दीगो विकास गरि हरित शहरको सपना पुरा गर्ने अवसर प्राप्त भएको छ । हरित शहर बनाउने जिम्मेवारी बोकेका अध्यक्ष कक्षपतिले भन्छन्–‘यो सम्झौता खजुराबासीका लागि मात्र नभइ सिंगो राष्ट्रका लागि ठुलो अवसर भएको हो ।’

आयोजनाले खजुरा गाउँपालिकालाई मात्रै नभएर नेपालकै लागि गौरवको योजना हो, सिंगो राष्ट्रमै खजुरा गाँउपालिकाले संयुक्त राष्ट्र संघ लगायत विभिन्न सहयोगी संस्थाहरुको साथ पाउनु गर्वको विषय हो ।

खजुरा हरित शहरका लागि गत जुलाई ९ मा उज्वेकिस्तानको तासकन्द शहरमा खजुरा गाउँपालिका र चिनिया इन्स्टिच्यूट फर साउथ–साउथ को–अपरेशन इन अग्रिकल्चरबीच संयुक्त हस्ताक्षर गरेपछि कार्यक्रमले औपचारिकता पाएको हो ।

संयुक्त हस्ताक्षरित पत्रमा खजुरा गाउँपालिकामा हरित कृषि विकासको समर्थन गर्दछ भनिएको छ भने दोश्रो बुँदामा गाउँ र शहरी विकासको बीचमा राम्रा अभ्यासहरुको पारस्परिक शिक्षा र सिकाई आदानको सुविधा खजुरा गाउँपालिका र चीन क्षेत्रका शहरहरुसँग हुने छ भनिएको छ ।

सन २०२० देखि यो परियोजनाको सुरुवात हुने अपेक्षा छ ।

तर कोरोना महामारीका बीच तत्काल शुरु हुन्छ वा हुँदैन हेर्न बाँकी छ । यसले कृषिमा आमुल परिवर्तन ल्याउनेछ, सिचाई, प्रविधि, उन्नत बीउविजन, प्रविधिको प्रयोगले कृषि प्रणालीमा सुधार ल्याई समुन्नत र समृद्ध खजुरा हुनेछ ।

गाउँपालिका अध्यक्ष कक्षपतिले हरित खजुरा प्रोजेक्ट ‘सुनौलो अवसर’ हो यसले खजुराका लागि मात्र होइन देशका लागि पनि उदाहरण दिने अवसर प्राप्त भएको छ ।

कृषिक्षेत्रका माध्यमबाट सम्बृद्धी भएको देख्न अबका केही वर्षमा देश बिदेशका मानिसहरु खजुरामा आउनेछन् ।

प्रजोक्टको सफलतासगैं यसले छिमेकी पालिका सहित बर्दिया, सुर्खेत र दाङ हुदै सिंगो राष्ट्रलाई समेट्नेछ ।

नयाँ नेपाल भनेर चिनिने बाँकेको पनि नयाँ ठाउँ खजुरा हो ।

वि.स. २०२ को दशकमा पुनर्वास वस्तीको रुपमा विकास गर्न शुरु गरिएको खजुरा कुनै समय नेपालगन्ज पछिको दोश्रो व्यापारिक केन्द्रको रुपमा रहेको थियो ।

कृषिलाई केन्द्रमा राखेर इजरायली प्राविधिकहरुले नक्सांकन गरेको पुनर्वास वस्ती अहिले खजुरा बनेको छ ।

राष्ट्रमंै ठुलो कपास खेतीको स्थान, कृषि अनुसन्धान केन्द्र, क्यान्सर अस्पताल जस्ता कारणले चिनिएको खजुरा अहिले हरित शहर बन्ने दौडमा लागेको छ ।

बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा कार्तिक ६ र ७ गते खजुरा सम्मेलन आयोजना गरिएको थियो ।

समृद्ध खजुराका लागि सम्मेलनमा प्रस्तुत भई सुझावका रूपमा आएका अवधारणा, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै २१ बुँदे घोषणापत्र जारी भयो ।

घोषणापत्रमा खजुराको दिगो विकासको लागि शैक्षिक, भौतिक, सामाजिक अवस्थामा सुधार, आर्थिक विकास, कुरीतिको अन्त्य, उद्यमशीलता जस्ता कुराहरु हासिल गर्न कुरालाई जोड दिइएको छ ।

यो सम्मेलनले खजुराको बिकास र समृद्धिको यात्रामा सबैको साथ ,समर्थन सुझाव सहित अघि बढ्ने तथा रोजगारीका लागि उद्दमशीलतालाई बढाउन खजुरा ब्रान्ड स्थापित गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्मेलनले खजुरा समृद्धिको मुख्य आधार कृषिलाई मान्दै हरित खजुरा सहर बनाउने अभियानमा प्रतिबद्ध रहने घोषणा गरेको छ ।

खजुरा सम्मेलन गर्नुभन्दा १० महिना पहिले नै कृषिमा दिगो विकास र हरित खजुरा भन्ने मुल नाराका साथ गाउँपालिकाले हरित खजुरा बनाउने गुरु योजना ल्याएको हो ।

उज्बेकिस्तानको तासकन्द शहरमा सम्पन्न भएको ग्रीन इकोनोमी समीट कार्यक्रममा युनेस्को सिटिज् प्रोजेक्ट, चाइना इन्स्टिच्युट् फर साउथ साउथ कोअपरेशन इन एग्रिकल्चर वल्ड फुड प्रोग्राम, चाइना सेन्टर अफ एक्सलेन्स, युएनडिपी, आइएफएडी, एफएओ र खजुरा गाउँपालिकासंग कृषिमा दिगो विकास गरि हरित शहर बनाउन साझेदारीको सुरुवात गरिएको थियो ।

नगरपालिकाले जनाए अनुसार चाइना इन्स्टिच्युट् फर साउथ कोप्रेसन इन एग्रिकल्चर गरि खजुरा गाउँपालिकाको विच संयुक्त हस्ताक्षर समेत भैसकेको छ ।

संयुक्त हस्ताक्षर पत्रमा खजुरा गाउँपालिकामा हरित कृषि विकासको समर्थन, गाउँ र शहर विकासको विचमा राम्रा अभ्यासहरुको पारस्परिक शिक्षा र सिकाई आदानप्रदानको सुविधा खजुरा गाउँपालिका र चीन क्षेत्रका शहरहरुसंग रहने उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको नीति कार्यक्रममा समेत खजुरा गाउपालिकाले हरित खजुरा अभियानलाई प्राथमिकता दिएको देखिन्छ ।

खजुराको मुख्य क्षेत्र पुनर्वास क्षेत्र हो, जुन पूर्णत वन फंडानी गरेर बनाइएको वस्ती हो ।

घना वन क्षेत्रमा मानिस बस्न लागेको लामो समयसम्म पनि खजुरा क्षेत्रमा प्रशस्त हरियाली रहेको स्थानीय वासिन्दाहरु बताउछन । पुनर्वास क्षेत्रको योजना बनाउदा बसोबास स्थल, कृषि क्षेत्र र हरियाली क्षेत्र निर्धारण गरिएको भएपनि बसोबास बृद्धि हँुदै जाँदा पुर्व नक्सांकन अनुसारका क्षेत्रहरु कायम रहेका छैनन् ।

खजुरामा मानव चहलपहल बढ्दै जादा खेतहरु वस्तीमा र हरियाली क्षेत्र खेतमा परिणत भै खजुरा क्षेत्र अव्यवस्थित शहरीकरणको चपेटामा परेको देखिन्छ ।

अव्यवस्थित वस्ती विस्तारकोे चपेटामा परेर खेतीयोग्य जमिन मात्र विनाश भएको छैन, शहर भित्रका खुल्ला ठाउँ, खोला, नदि तालतलैया र नहर/कुलोका डिलहरु समेत हराएका छन् ।

खुला ठाउँ नराखी घर बनाउने र सार्वजनिक जमिनहरु मास्ने प्रवृति अन्य शहरमा जस्तै यहाँ पनि बढ्दै गएकोले बोटविरुवाहरुको संख्या निरन्तर घटिरहेको मात्र छैन सडक निर्माण र विद्युतिकरणले गर्दा यहाँको हरियाली लोप भैरहेको छ ।

डिभिजन वन कार्यालय बाँकेको तथ्याङ्क अनुसार खजुरा गाउँपालिका जिल्लामै कम वन क्षेत्र कम भएको क्षेत्रमा पर्छ ।

हरियाली र सुन्दरता घट्दै गएको अवस्थामा खजुराले हरित खजुरा अभियान शुरु गरेको छ ।

खजुरा गाउपालिकाले शुरु गरेको अभियान पक्कैपनि खजुरा बजारको सडक छेउछाउ विरुवा हुर्काएर बजारलाई सुन्दर बनाउने मात्र हैन । समग्र खजुरा गाउपालिका मै वनजंगल र हरियाली कम भएको अवस्थामा हरियाली प्रवद्र्धन, वन पैदावारको सहज उपलब्धता, पशुपालनमा सहयोग र माटोको उर्वराशक्तिको संरक्षण जस्ता कार्यहरुको लागि हरित खजुरा अभियान आवस्यक परेको हो ।

त्यसैले बजार क्षेत्रमा गरिने हरियाली प्रवद्र्धनले मात्र खजुराको आवश्यकता कदापि पुरा हुन सक्दैन । खजुरालाई हरियालीपूर्ण बनाउने र स्थानीय वासिन्दाहरुको घाँस दाउराको माग पुरा गर्नको लागि गाउँपालिकाले हाल कायम रहेका सार्वजनिक जग्गाहरु तथा नदि उकास जग्गामा साझेदारी वा सामुदायिक मोडेलमा वन विकास तथा व्यवस्थापन गर्नु जरुरी छ ।

यस नगरपालिकामा केहि ब्यक्तिहरुको स्वामित्वमा धेरै जग्गा भएकोले यस्ता जग्गा धनीहरुलाई निजी वन विकासमा प्रोत्साहन र सहयोग गर्नु पर्छ ।

त्यसैगरी किसानहरुलाई कृषि वनतर्फ आकर्षित गर्ने, खुलो र घोलाको डिलमा रुख हुर्काउन सहयोग गरेमा किसानहरुका घाँस दाउराको समस्या हल हुने, भूमिगत जल भण्डारको संरक्षण र माटोको उर्वराशाक्तिको संरक्षण हुन गई कृषि उत्पादनमा वृद्धि हुनेछ ।

खजुरा गाउपालिकाले चालु आर्थिक वर्षको नीति कार्यक्रममा हरित विद्यालयको अवधारणा ल्याएको छ । नेपाल सरकारले समेत गत वर्ष नै हरित विद्यालय निर्दे्शिका ल्याइसकेको छ ।

यहि निर्दे्शिका अनुसार गाउँपालिकाले सबै विद्यालयहरुलाई हरित विद्यालय बनाउन आवश्यक निर्देशन र सहयोग दिनु जरुरी छ । पुरानो खजुरा बजार शहर बन्ने दौडमा छ । अझ खजुरा र जानकी गाउँपालिकालाई समेत समावेश गरि नेपालगन्ज महानगरपालिका बनाउने चर्चा समेत चलिरहेको छ ।

खजुरालाई सुन्दर र समृद्ध नगर बनाउनको लागि अहिले नै शहरी हरियालीमा ध्यान दिनु अत्यावश्यक छ ।

शहरमा रुख हुर्काउँदा शहरी सुन्दरता र वातावरणीय स्वच्छताको रक्षा हुने र मानवीय आवश्यकता समेत परिपूर्तिमा सहयोग हुने खालका वनस्पतिलाई प्राथमिकता दिनु आवश्यक छ ।

सडक किनार चौर, पार्कमा शोभा र शितलता दिने र लामो समय सम्म टिक्ने सदावहार वनस्पतिहरु रोप्नु उचित मानिन्छ ।

बजार क्षेत्रमा वनकै रुप दिनको लागि रुख रोप्ने स्थानको अभाव हुन सक्छ ।

यस्तो ठाउँमा घरको छतमा गमलाका विरुवाहरु रोपेमा पनि शहरलाई हरियालीयुक्त बनाउन मद्दत पुग्नेछ ।

हरियाली मानव जीवनको आधार हो ।

अहिले शहरहरु कुरूप, प्रदुषित र अस्वस्थ देखिनुको एउटा प्रमुख कारण शहरमा बोटविरुवा कम हुनु हो ।

शहरहरु कंक्रिटको जंगल बनिरहँदा शहरी सुन्दरता र दैनिक जीवनमा समेत नकारात्मक असर परिरहेको छ । खजुराले शहर बन्ने क्रममा धेरै हरियाली र सुन्दरता गुमाइसकेको छ । खजुरालार्ई मानव बसोबासयोग्य बनाउने र जीवन दिनको लागि यहा हरियाली फर्काउनु आवश्यक भैसकेको छ ।

खजुरामा अझै खाली स्थानहरु भएको शहरी वन, कृषि वन, निजि वन बनाउन सकिने अवस्था छ । पुराना बजार क्षेत्रमा वन बनाउन सम्भव नभएपनि सडक किनारा, व्यक्तिगत आवास क्षेत्र र सावजनिक स्थलहरुमा रुखहरु हुर्काएर शहरमा हरियाली ल्याउन सकिन्छ ।

त्यसैगरी शहरी पूर्वाधार निर्माण गर्दा अनिवार्य रुपमा हरित पेटी (ग्रीन बेल्ट) राख्नु पर्ने र घर निर्माण गर्दा घर अगाडी केहि जमिन खुला छोडेर कम्तिमा दुइटा विरुवा रोप्नु पर्ने व्यवस्था गर्ने र अहिले भैरहेका चौपारी र पुराना रुख विरुवाहरु जोगाउने कार्य गर्ने हो भने पक्कैपनि हरित खजुराको अभियान सफल हुनेछ ।

प्रकाशित मितिः     12:22:21 PM  |