अस्पताल बनाए बिपत्तीमा काम लाग्छ ! खजुराबाट सिकौ


खजुरास्थित क्यान्सर अस्पताल(कोभिड–१९ बिशेष अस्पताल) बाट कोरोना जितेर घर फर्किदै गरेकी बालिकाको तस्विरले देशभर चर्चा
पायो ।

बिश्वभर महामारीको रुप लिएको कोरोना जित्नु आफैमा ठूलो कुरा बन्यो, उनी लगायत २१ जनाले एकै दिन कोरोना जितेकाले चर्चा पाउनु स्वभाविक थियो ।

कोरोना संक्रमणलाई जितेकामा स्वास्थ्यकर्मीले उनीलाई बधाई दिए ।

हातमा पुष्पगुच्छा र घाँटीमा खादा लगाइदिए ।

मुखमा मास्क र काँधमा झोला भिरेर उनी खजुरास्थित कोरोना विशेष अस्पतालबाट अभिभावकसँगै बाहिरिइन् ।

खजुरा क्यान्सर अस्पतालबाट कोरोना जितेर मुस्कान सहित घर फर्किनेको श्रृखंला अहिले पनि जारी छ ।

यसरी कोरोनाबाट जिताएर बिरामीलाई खुसी सहित घर फर्काउने खजुरा क्यान्सर अस्पताल स्थापनाको संघर्ष र गौरबको बेग्लै कथा छ । यो पश्चिमकै सबैभन्दा ठूलो क्यान्सर अस्पताल हो ।

खजुराबासीले महायज्ञ लगाएर शुरु गरेको अस्पतालले भर्खरै सेवा दिदै थियो ।

त्यही बेला कोरोनाको महाबिपत्ती आइलाग्यो ।

सूविधा सम्पन्न आइसोलेशन अस्पतालको खोजि हुँदै गर्दा खजुरा अस्पताल नै सबैका लागि उपयुक्त सावित भयो ।

प्रदेशभरको प्रमुख कोभिड बिशेष अस्पतालका रुपमा यो अस्पताल बनेको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति अस्पताल स्थापना हुनुपूर्वदेखि पछिसम्म पनि अस्पतालको नेतृत्वमा रहे ।

उनकै नेतृत्व र खजुराबासीको साथले बनेको क्यान्सर अस्पताल कोरोना बिरुद्धको महाबिपत्तीमा बरदान सावित भएको छ ।

कक्षपति भन्छन्–‘यत्रो बिपत्ती बिरुद्धको लडाईमा खजुरा सबैभन्दा अगाडी भएर लडिरहेको छ । हाम्रा लागि यो भन्दा गौरबको कुरा अरु के हुन सक्छ ?’

२०६२ सालमा प्रखर परोपकार मिसनबाट अस्पताल सञ्चालनका लागि अभियान सुरु भएको थियो ।

०६५ माघ ११ मा धनधान्यञ्चल ज्ञान महायज्ञबाट संकलित पाँच करोड २६ लाख र प्रखर परोपकार मिसन नेपाल नामक संस्थाको तीन करोड २६ लाख ६१ हजार रुपैयाँमा ‘नेपाल क्यान्सर अस्पताल’ को नाममा पूर्वाधार निर्माणका कामहरू थालिएका थिए ।

०७३ फागुन १५ को मन्त्रिपरिषद् बैठकमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति स्व.सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ का रूपमा सरकारीकरण गरियो ।

कक्षपती भन्छन, ‘हामीले जनताको प्रत्यक्ष सहभागितामा चार बिघा क्षेत्रफलमा अस्पताल निर्माणको काम सुरु ग¥यौं । सञ्चालनमा नआउँदै अस्पताललाई सरकारले स्वामित्व ग्रहण ग¥यो । अनि सुविधासम्पन्न अस्पतालका रूपमा सर्वसुभल सेवा दिँदै छौं।’

केही दिन अघि मात्र सरकारले भक्तबहादुर केसीलाई अध्यक्षमा नियुक्त गरेको छ । उनको अगुवाईमा अस्पतालले अझ विकास गर्ने अपेक्षा गरिएको छ ।

जनसहभागितामा सुरु गरी सरकारलाई हस्तान्तरण गरेको यो नै नेपालको पहिलो क्यान्सर अस्पताल हो ।

यो चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालपछि सरकारी स्वामित्वमा सञ्चालित दोस्रो अस्पताल भएको छ। नेपालमा क्यान्सरकै मात्र उपचार गर्ने सरकारी र निजी गरी (योसमेत) आधा दर्जन मात्र अस्पताल छन् ।

०६६ सालमा स्वास्थ्य मन्त्रालयबाट एक सय शैयाका लागि अनुमति पाएको यो अस्पतालमा ६९ शैयाको भवन निर्माण भइसकेको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ३१ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

तर, सबै करारमा लिइएका हुन् ।

जहाँ पाँच जना चिकित्सक छन् । जसमा एक जना क्यान्सर रोग विशेषज्ञ, अर्का सर्जन र तेस्रो फिजिसियन गरी तीन जना विशेषज्ञ चिकित्सक छन् ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विगतमा काम गरेको आधारमा डाक्टर बिश्वराज पौडेलले भने, ‘निजी अस्पतालमा कम्तीमा एकदेखि दुई लाख रुपैयाँ लाग्ने क्यान्सरको ठूलो अप्रेसन यहाँ १५ देखि २० हजार रुपैयाँमै गर्न सकिनेछ ।’

अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि पश्चिम नेपालका कर्णाली, प्रदेश ५ र ७ का क्यान्सर रोगीले सहुलियत सेवा पाउनेछन् । उनीहरूमा चितवन, काठमाडौं उपत्यका र भारतका विभिन्न अस्पतालमा उपचारका गर्न जानुपर्ने समस्या टरेको छ ।

खजुरामा कोरोना बिशेष अस्पताल बनाएर अहिलेको महाबिपत्ती बिरुद्धको लडाईमा अग्रसर भएकोमा स्याबासी पाइरहेको बताउँछन्, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसी उनी भन्छन्–‘कोरोना जितेर घर फर्किएकाले अस्पताल बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा भूमिका खेल्नेहरुलाई आर्शिवाद दिइरहनुभएको छ ।

खजुराका लागि यो भन्दा ठूलो कुरा केही हुन सक्दैन ।’ खजुरा क्यान्सर अस्पतालको चर्चा गर्दा छुटाउनै नहुने नाम हो, दिनदयाल महाराज । जो यो अस्पतालका संकल्पकर्ता र संरक्षक हुन ।

प्रकाशित मितिः     12:26:53 PM  |