बजारमा ठगी गर्नेलाई त्यसै छाड्ने होइन धमाधम कारवाही हुन थाल्यो


नेपालगन्ज २० जेठ : बजार अनुुगमन गर्ने सरकारी कार्यालयलाई संधै लाग्ने आरोप हो-अनुगमन त गर्ने तर कारवाही नगर्ने ।

तर अब नेपालगन्जमा अनुगमन पछि ठगी गर्नेलाई धमाधम कारवाही हुन थालेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण पौडेल भन्छन्-ठगी गर्नेलाई सम्झाई बुझाई गरेर माफी दिने कुरा अब अतित भइसक्यो । अब कारवाही हुन्छ ।

यतिबेला कोरोना संक्रमण रोक्न सरकारले लकडाउन लगाएको छ ।

उद्योग, व्यवसाय ठप्पप्राय छन् ।

यद्यपी अत्यावश्क सामाग्रीको उत्पादन र विक्री भने भइरहेको छ ।

यस्तो विषम परिस्थतीमा पनि उपभोक्ता ठग्नेको कमी छैन ।

बजारमा सामाग्री अभावको कारण देखाउँदै उपभोक्ता लुट्न थालेको गुनासो बढेपछि बजार अनुगमनलाई तिब्र बनाइएको बताउँछन्, पौडेल ।

बजारमा यतिबेला कृषी, स्वास्थ्य एवं निर्माणसंग जोडिएका सामाग्रीको कालोबजारी भइरहेको छ ।

केही दिन अघि मात्र धम्वोझीको एउटा एग्रोभेट सेन्टरलाई धानको बिउँमा कालोबजारी गरेपछि दुई लाख रुपैया जरिवाना गरिएको थियो ।

त्यस्तै पुष्पलालचोकको हार्डवेयर पसलमा मुल्यसूची नराखेको पाइएपछि ६० हजार जरिवाना गरिएको छ ।

यि दुईवटै जरिवानाले अब बजार अनुगमनकर्ताहरु सम्झाई बुझाई गरेर घर फर्किन्छ भन्ने सोंचको अन्त्य गरेको बताउँछन् वाणिज्य कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाई ।

चौलागाई केही दिन अघि मात्र उक्त कार्यालयमा सूचना अधिकारीका रुपमा आफ्नो काम सम्हालेका छन् ।

उनले बजार अनुगमनमा दण्डहिनता अन्त्य हुने बताए ।

बजारमा ठगी गर्नेलाई त्यसै छाड्दा उनीहरुको मनोवल बढ्ने गरेको छ ।

कुनै पनि प्रकारको कारवाही नपाए पछि उनीहरु फेरी त्यस्तै गल्ती दोहोर्याउँदै आएका थिए ।

तर अब भने त्यस्तो मौका नदिइने कार्यालय प्रमुख पौडेल बताउँछन् ।

बजारमा ठगी गर्नेलाई नेपालगन्जमा अधिकत्म दुई लाखसम्म जरिवाना भएको छ । अब मुद्दा समेत चलाउने योजना बन्दै छ ।

प्रकाशित मितिः     २० जेष्ठ २०७७, मंगलवार ०७:३०  |