मंगलबार एकैदिन ३०१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय १२ पुगेको छ।
कुल संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश-२ का छन्।
प्रदेश-२ मा ८ सय १६ जनामा संक्रमण पुष्टि भएको छ जसमा एकजनाको मृत्यु भएको छ।
यस्तै १ सय ४ जना निको भएका छन्।
मृत्यु भएका एकजना बाराका ७० वर्षीय वृद्ध हुन्।
त्यसपछि सबैभन्दा बढी संक्रमित प्रदेश-५ मा पुष्टि भएका छन्। त्यहाँ ७ सय १२ जनामा संक्रमण प्रमाणित भएको छ।
यीमध्ये तीन जनाको मृत्यु भएको छ भने ७४ जना निको भएर घरमा फर्किएका छन्। मृत्यु हुने उनीहरू गुल्मी, अर्घाखाँची र बाँकेका हुन्।
तेस्रो बढी संक्रमित संख्या कर्णाली प्रदेशबाट रहेका छन्।
सबैभन्दा अन्तिममा संक्रमण देखिएको कर्णालीमा संक्रमित संख्या २ सय ५२ पुगेको छ। त्यहाँ एकजनाको मृत्यु भएको छ। बाँकी सबै संक्रमितको उपचार चलिरहेको छ।
यस्तै प्रदेश(१ मा संक्रमित संख्या १ सय ६८ छ, जसमा ४८ जना निको भएका छन्।
नेपालमा कोरोनाको पहिलो हटस्पट प्रदेश(१ को उदयपुरस्थित भुल्केमा बनेको थियो।
भुल्केको एक मस्जिदमा रहेका जमाती समूहमध्ये एकैदिन १२ जनामा संक्रमण पुष्टि भएको थियो।
यसैगरी सुदूरपश्चिमा ७३ र बाग्मती प्रदेशमा ५४ जना संक्रमित फेला परेका छन्।
संक्रमणबाट यी सुदुरपश्चिममा एक र बाग्मतीमा दुई जनाको ज्यान गएको छ।
बाग्मतीमा मृत्यु भएका दुई मध्ये एक जना सिन्धुपाल्चोककी महिला हुन् भने अर्का मृतक ललितपुरका एक पुरूष हुन्।
यस्तै सुदूरपश्चिममा बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाबाट ज्यान गएको हो।
सुदूरपश्चिममा ७ र बाग्मतीमा ३० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा भेटिएका छन्। त्यहाँ हालसम्म ३७ जना संक्रमित फेला परेका छन्। यीमध्ये ३ जना डिस्चार्ज भएर घरमा छन्। बाँकी संक्रमितको उपचार भइरहेको छ।
संक्रमितमध्ये अधिकांश भारतबाट आएका हुन्।
पछिल्लो समय ठूलो संख्यामा भारतबाट मानिसहरू नेपाल आएका कारण संक्रमित संख्या अझ बढ्ने देखिन्छ।
गत साता मात्र ७ सयको हारहारीमा रहेको संक्रमित संख्या एक साता नबित्दै १३ सयले बढेर कुल संख्या २ हजार नाघिसकेको छ।