कोरोना जितेर घर फर्किए पत्रकार- नर्स दम्पत्ति


नेपालगन्ज २४ जेठ :  कोरोना संक्रमणलाई जितेर नेपालगन्ज उपमहानगरपालिका २ का नर्स र पत्रकार जोडी घर फर्किएका छन् ।

नर्सिङ्ग संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी र श्रीमान पत्रकार मेघराज ओली झण्डै दुई हप्तापछि कोरोना जितेर शनिवार घर फर्किएका हुन ।

अस्पतालमा स्वागत गर्न खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति,नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, भेरी अस्पतालकी प्रमुख अस्पताल नर्सिग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुर्णबहादुर खड्का, योजना प्रमुख दिलबहादुर पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारु, सचिव तिलक गाउँले लगाय अस्पताल पुगेका थिए ।

उच्च मनोवल र स्वास्थ्य आचरणमा ध्यान दिएका कारण कोरोनाबाट मुक्ती पाएको उनीहरुको प्रतितिक्रया छन् ।

यस अवधिमा सहानुभुती प्रकट गर्नेहरु प्रति दुबै जनाले धन्यवाद दिए ।

अरु दिन जस्तै केसी खजुरा गाउँपालिकाबाट काम गरेर घर फर्किएकी थिइन ।

घरमै बसेर उनले कोरोनाका बिषयमा जिल्लामा नेतृत्वदायी भूमिका निभाइरहेका देशभरका नर्सको भर्चुअल बैठकमा सहभागिता जनाइन । बैठक सकिए लगत्तै उनलाई कोरोना पोजिटिभ भएको जानकारी दिइयो ।

‘शुरुमा पत्यार नै लागेन ।’ उनी भन्छिन्–‘होइन होला भन्ने लाग्यो । तर रिर्पोट भनेको रिर्पोट नै हो मान्नै पर्यो । यत्रो सावधानी अपनाउँदा समेत कोरोना देखियो ।’

उनी खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाको उपप्रमुख हुन । संक्रमण भएको थाहा हुँदासम्म कोरोना बिरुद्ध गाउँपालिकाले चलाएका हरेक अभियानमा उनले फिल्डमा खटिएर सक्रियतापूर्वक काम गरेकी थिइन ।

खजुराको उढरापुरमा एकजना संक्रमण देखिए पछि उनी सहित अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । त्यसमा अरुको नेगेटिभ आए पनि केसीको पोजिटिभ आएको थियो । लगत्तै परिवारका सदस्यको पनि परीक्षण गरियो ।

जसमा छोराछोरीको नेगेटिभ र श्रीमानको पोजिटिभ देखियो । श्रीमान नेपालगन्जका अग्रज पत्रकार हुन । उनी दुई दश भन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । संक्रमण देखिने बित्तिकै दुबैजानलाई खजुरास्थित कोरोना बिशेष अस्पतालमा आइसोलेट गरिएको थियो ।

संक्रमण अवधिभर दुबै जनाको स्वास्थ्य अवस्था सामान्य थियो । ‘स्वास्थ्य सुरक्षा उपाय अपनाउन कुनै कसर बाँकी राखेका थिएनौं । त्यही पनि भयो । अहिले कोरोजा जित्यौं । ’– उनीहरुले भने । कोरोना रोग भन्दा समाजमा रहेको त्रसित मनोविज्ञान सबैभन्दा डरलाग्दो भएको ओली बताउँछन् । उनी भन्छन्–‘रोगसंग लड्न सजिलो छ । जितिन्छ पनि तर यसका बारेमा समाजमा फैलिएको त्रसित मनोविज्ञानसंग लड्न धेरै मुस्किल हुन्छ जस्तो लाग्यो ।’

कोरोना बिरुद्धको अभियानसंगै सामाजिक मनोचिकित्सासंग सम्बन्धी जनचेतना फैलाउन आवश्यक भएको उनीहरुको भनाई छ । सामाजमा संक्रमित हेर्ने दृष्टिकोण समेत फरक पाइएकाले त्यसलाई फेर्नुपर्ने बताउँछन् ।

 

प्रकाशित मितिः     २४ जेष्ठ २०७७, शनिबार १५:५८  |