छापाखाना उद्योग हाक्ने महिला उद्यमी


नेपालगन्ज २५ जेठ : उद्यम क्षेत्रमा महिला सहभागि बढ्दै छ । उत्पादनमुलक उद्योगमा समेत महिलाको सक्रिय सहभागिताले आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान दिएको छ । यहाँ नेपालगन्जको छापाखाना उद्योगमा सक्रियतापूर्वक लागेका महिलाहरुको छोटो कथा समेटिएको छ ।

मिना सुवेदी ढकाल – छापाखाना उद्योगमा अग्रणी महिला उद्यमी हुन । पश्चिम नेपालको पहिलो कलर प्रेसका रुपमा म्याक्सवेल भित्रा्एको केही समयदेखि उनले उद्योग सम्हालेकी थिइन । ढकाल दश वर्षदेखि यो उद्योगमा छिन् । बिहानदेखि साँझसम्म बिजनेशको नयाँ –नयाँ योजना बनाउनेदेखि हरहिसावको जोडघटाउ गर्नु उनको दैनिकी नै हो । उमेरले ५२ काटे पनि ढकालको काम गर्ने उर्जा, उत्साह अझ थपिदै छ ।


‘बिजनेशमा जति भिज्यो उत्ति रहर लाग्ने हुँदोरहेछ । मलाई त अहिले झन् काम गर्न मन पर्छ ।’–उनी भन्छिन् । सामाजिक क्षेत्रका अगुवा मुकुट ढकालकी श्रीमती हुन मिना । श्रीमानको संधै साथ र सहयोगकै कारण बिजनेशमा अगाडी बढेकी उनी भन्छिन्–‘जिवन यात्रामा मात्र होइन बिजनेशको यात्रामा पनि हामी एक रथ दुई पांग्रा हौ ।’ ढकाल २०५० सालदेखि ब्यापारमा सक्रिय छन् । उनी त्यो बेलादखि स्टेशनरी प्रोडक्सन गरेकी थिइन । अहिले लाइन्स क्लव मार्फत समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।

आचल अग्रवाल–ठुलो उद्योगको व्यवस्थापन सम्हाल्ने मारवाडी समुदायकी अगुवा महिला हुन । रामदुत अफसेट प्रेसकी सन्चालिका उनी व्यवस्थापनमा अब्बल छिन् । यही कारण उक्त अफसेटले पश्चिम नेपालमा बेग्लै पहिचान स्थापित गर्न सकेको छ । आँचल उद्योगको काममा निरन्तर खटिन्छन् ।

भन्छिन्–‘हाम्रो परिवारिक परिवेश नै बिजनेश गर्ने भयो । त्यसैले काम गर्न कुनै असजिलो लाग्दैन ।’ अग्रवालको परिवारिक पृष्ठभूमि नै बिजनेश हो । उनका श्रीमान आदेश अग्रवाल नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हुन । उनले श्रीमती आँचललाई बिजनेशमा प्रोत्साहित गरिरहेका छन् । अग्रवाल भन्छन्–‘उद्यम क्षेत्रमा महिलाले जे पनि गर्न सक्छन् भन्ने उदाहरण मेरै घरमा छ । यति ठुलो अफसेट उनले मज्जाले हाँकिरहेकी छन् ।’

कुसुम बस्नेत :  सीमित छापाखाना सन्चालनमा रहेको मात्र होइन पुरुषलाई समेत सन्चालन गर्न हम्मेहम्मे पर्ने बेला धेरै वर्ष अगाडी उनी आफैले अम्बकीश्वरी छापाखाना सन्चालन गरिन । बस्नेतले कयौं हिम्मत महिलालाई उद्यमक्षेत्रमा आर्कषण गर्न काम गर्यो । त्यो बेला बस्नेतले कसरी सफल तरिकाले उद्योग सन्चालन गरिन् होला ? अहिले सामान्य अनुमान लगाउन सकिन्छ । महिला उद्यमी संघ बाँकेको पूर्व अध्यक्ष समेत रहेकी उनी भन्छिन्–‘समाजले जेसुकै भने पनि अगाडी बढ्ने हिम्मत राख्नुपर्छ । अनि मात्र अगाडी बढिन्छ ।’ नेपाल मुद्रण संघ बाँकेको अध्यक्ष छिन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल महिलालाई उद्यम क्षेत्रमा सक्रिय बनाउन परिवारिदेखि राज्यका निकायसम्मले सहयोग गर्नुपर्ने बताउँछन् । उनी भन्छन्–‘सबैभन्दा महत्वपूर्ण कुरा महिलामा इच्छाशक्ति हुनुपर्छ । त्यसपछि परिवारदेखि राज्यका हरेक निकायले साथ र सहयोग गर्नुपर्छ ।’ नेपाल मुद्रण महासंघकी केन्द्रीय सदस्य समेत रहेकी, नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यम महिलाकी नगर अध्यक्ष मिना सुवेदी ढकाल आर्थिक शसक्तिकरणका लागि महिलाहरु अग्रसर हुनुपर्ने बताउछिन् । भन्छिन्–‘त्यसका लागि हामी अग्रसर हुन जरुरी छ ।’ महिला उद्यमीले हाँकेको रामदुत र म्याक्सवेल अफसेटमा नयाँ नयाँ प्रविधि भित्रिएका छन् ।

प्रकाशित मितिः     12:21:24 PM  |