गढी जोड्ने पदमार्ग…..


सुर्खेत । वीरेन्द्रनगर ४ खोर्केदेखि वीरेन्द्रनगर १४ को गढी जोड्ने निर्माणाधीन पदमार्गमा बजेट थप हुने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलवार विहान निर्माणाधीन पदमार्गको अवलोकन गर्दै पदमार्ग पूरा गर्नका लागि बजेट थप्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले पहिलो चरणको कामप्रति सन्तुष्टि व्यक्त गर्दै दोस्रो चरणमा बजेट थपिने बताउनुभयो ।

उहाँले भन्नुभयो, काम हेर्दा सन्तोषजनक छ, लकडाउनमा बेरोजगार बनेका स्थानीयहरुले रोजगारी पाएका छन्, पदमार्ग निर्माणको लागि आवश्यक बजेट थप हुन्छ ।

मुख्यमन्त्रीले पदमार्गमा बजेट थप हुने प्रतिवद्धता आएपछि निर्माण समितिले पनि खुशी व्यक्त गरेको छ ।
कोरोनाले अस्तव्यस्त बनाएको बेला प्रदेश सरकारले ठूलो योजनाहरु नगर्ने जानकारी दिदैं मुख्यमन्त्री शाहीले अव वडातहहरुमा हुने साना योजनाहरुलाई पूरा गर्दै लैजाने योजना रहेको बताउनुभयो । साना योजनाहरु पूरा गर्दै जाने र ठूलो योजनाहरु नगर्ने उहाँको भनाइ छ । उहाँले रोजगारमूलक योजनाहरु प्रदेशले अगाडि सार्ने उल्लेख गर्नुभयो ।

पदमार्गको वारेमा जानकारी गराउँदै पूर्वमन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले तोकिएको समयभित्रै पदमार्ग निर्माणको काम सकिने बताउनुभयो । उहाँले जिल्लाकै पुरानो सडकलाई पदमार्गको रुपमा विकास गरी आन्तरिक पर्यटनलाई बढावा दिन सकिने उल्लेख गर्नुभयो ।

पदमार्गको निर्माणको कामको अवलोकनमा मुख्यमन्त्रीसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढापनि हुनुहुन्थ्यो ।
पदमार्ग निर्माण समितिका सचिव अमरबहादुर कार्कीले अहिलेसम्म पदमार्गको काम ५० प्रतिशत सकिएको बताउनुभयो ।

उहाँले असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने भनिएको पदमार्गको कूल लागत ८५ लाख रहेको छ । जसमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ६८ लाख र जनश्रमदानबाट १७ लाख लाख व्यहोरिनेछ । पहिलो चरणमा ७८० मिटर पदमार्ग निर्माण हुनेछ । त्यसपछि दोस्रो चरणको काम थालिनेछ । दोस्रो चरणको लागि पनि मन्त्रालयले बजेटको व्यवस्था गर्न लागेको छ ।

करिव चार किमी लामो पदमार्ग सम्पन्न हुने तीन करोड लाग्ने अनुमान छ । सुर्खेतको पुरानो सदरमुकाम गढीबाट वीरेन्द्रनगर आउन जानका लागि त्यही बाटो प्रयोग हुने गर्दथ्यो । सुर्खेत दैलेख सडक निर्माण हुनु अघि पनि त्यही बाटोबाट मानिसहरु आउनेजाने गर्दथे । पदमार्ग निर्माणको अवलोकन गर्न प्रदेश योजना आयोगका सदस्यद्वय योगेन्द्रबहादुर शाही, दिपेन्द्र रोकाया, पदमार्ग निर्माण समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंह, वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनाल, नेकपाका नगर इन्चार्ज गंगाराम तिमिल्सेनालगायत हुनुहुन्थ्यो ।

सुर्खेतपत्रबाट

प्रकाशित मितिः     २७ जेष्ठ २०७७, मंगलवार १६:०१  |