….अनि सुरजले सेनिटाइजर उत्पादन शुरु गरे


नेपालगन्ज ३१ जेठ :  नेपालगन्जमा रहेको बिएस इण्डस्ट्रिजका संचालक सुरज भण्डारी उमेरले २६ वर्ष पुगे ।

पहिले सिद्धार्थ समूहमा काम गरे पनि तीनवर्षदेखि भने आफ्नै उद्योग हाकिरहेका छन् ।

उनको उद्योगमा ट्वाईलेट पेपर, हार्पिक, नेमकिन आदि उत्पादन गर्दै आएको छ । पश्चिमयताका हरेक होटल एवं घरमा उनको उत्पादन पुगेको छ । यतिबेला लकडाउनले भने उनलाई निकै पिरोलेको छ ।

भण्डारी भन्छन्–‘मलाई मात्र के ! सबैलाई संकट छ ।’

सुरजको उद्योगमा छ जनाले रोजगारी पाएका छन् । उमेर कलिलै भए पनि बजारमा उनले आफुलाई अब्बल सावित गरेका छन् । मार्केटिङ्ग क्षमताले चिनाएको छ । ‘हामीले दुःख गरेका छौं । बजारमा सबैलाई बिश्वास गर्नुभएको छ ।’– सुरज भन्छन् ।

लकडाउन यता उनको उद्योगमा पहिले उत्पादन हुने प्राय सबै उत्पादन बन्द जस्तै छ । भण्डारी भन्छन्–‘मेरो उत्पादन विक्री हुने होटल क्षेत्र पुर्णरुपमा ठप्प छ । अनि कसरी मेरो उत्पादन विक्री हुन्छ ।’ उत्पादन ठप्प भएपछि ऋणको बोझ अरुलाई जस्तै सुरजलाई पनि छ ।

सुरजले उद्योगलाई चलायमान बनाउन शुरु गरेका छन् । त्यसका लागि अहिले बजारमा आवश्यक भएको सेनिटाइजर उत्पादन र विक्री वितरण शुरु गरेको बताए ।

‘लकडाउन खुकुलो भएपछि सेनिटाइजरको उत्पादन र विक्री शुरु गरेको छु । केही न केही त गर्नैपर्यो ।’– भण्डारीले भने । अहिले बजारमा सेनिटाइजर समेत अभाव भइरहेका बेला शुरु गरेको उत्पादनले सर्वसाधारणलाई राहत दिएको छ ।

प्रकाशित मितिः     ३१ जेष्ठ २०७७, शनिबार १०:०५  |