उद्योग मन्त्रीको ग्याँस उद्योग तीन महिनामै विक्री


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको स्वामित्वमा रहेको सैपाल ग्यास बिक्री भएको छ।

भट्टले १८ करोड रुपैयाँमा ग्यास उद्योग बिक्री गरेका हुन्। उद्योगमन्त्री भट्टकी श्रीमती निर्मलादेवी भट्ट संचालिका छिन्। निर्मलासँगै उनका नजिकका चार जना आफन्त संचालक छन्। यो ग्यास उद्योगको क्षमता दुई सय टन छ। उद्योगको नाममा २ बिघा ३ कट्ठा जग्गा छ।

यो ग्यास उद्योग नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले किनेका हुन्। यो उनको सातौं ग्यास उद्योग हो। एभरेष्ट, सुगम, सहारा, त्रिशूल, कामाख्या र प्रिमा ग्यास उद्योगसँगै सैपाल पनि उनको भएको छ। घिमिरेले सैपाल ग्यास उद्योग किनेको पुष्टि गर्दै अहिले कैलालीमा रहेर उद्योगको व्यवस्थापन हेर्न थालेको बताए। ‘मैले सैपाल ग्यास १८ करोड रुपैयाँमा किनेको हो,’ उनले बिजमाण्डूसँग भने, ‘त्यो बाहेक ग्यासको स्टक र सिलिण्डरको छुट्टै हिसाबकिताब हुनेछ।’

उनका अनुसार उद्योगसँग अहिले दुई हजार सिलिण्डर छ। ‘उद्योगले तीन हजार सिलिण्डर किन्न पैसा तिरिसकेको छ,’ उनले भने, ‘सुदूरपश्चिमको बजार हेरेर उद्योग किनेको हो।’ उनले सैपाल भन्दा ६ किलोमिटर टाढा ग्यास उद्योगकै संरचना बनाइरहेका थिए। तर संचालनमा आइसकेको ग्यास उद्योगनै बिक्रीका लागि आएपछि उनले सैपाल किनेका हुन्।


‘मैले ६ बिघा जग्गा किनेर पूर्वाधार बनाइरहेको थिएँ। तर बनिबनाउ ग्यास उद्योग नै पाएकाले किनेको हुँ,’ घिमिरेले भने, ‘यहाँको बजारलाई हेरेर ग्यास उद्योग चाहिने देखेर लगानी गरेको हुँ।’ यहाँ रेडियन्ट मात्रै ग्यास उद्योग संचालनमा छ।

कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको यो उद्योग चार वर्ष अघि निर्माण भएको थियो। निर्माण भएको चार वर्षपछि यो उद्योगले संचालनको अनुमति पाएको थियो।

तीन महिना अघि सैपाल, सीताराम तिमिल्सिनाको सीता र सावरमल अग्रवालको सगर ग्यासले संचालन अनुमति पाएको थियो। संचालन अनुमति पाएपछि सीता र सगरले ग्यास बिक्री गर्न थाले पनि सैपालले भने बजार एग्रेसिभ रूपमा जान सकेको थिएन। स्रोतका अनुसार मन्त्री भट्टको घरजग्गा धितो राखेर उद्योगमा लगानी गरिएको थियो। सुरुमा ग्यास उद्योगबाट मुनाफा गर्न सकिने देखेर उनले लगानी गरे। तर चार वर्षसम्म ग्यास उद्योग संचालनमा नआएपछि उनको ऋणको रकम बढ्दै गयो।

उद्योगका लागि लिएको ऋण मात्रै १२ करोड रुपैयाँ पुगेको छ। अत्यन्तै सरल भट्टका लागि यो उद्योग ठूलो गलपासो बन्यो। ‘ग्यास उद्योगका लागि घरनै ऋणमा राखेका भट्टले जसरी भएपनि निस्किन चाहेका थिए। उनले केही महिनादेखि उद्योग बिक्रीका लागि हारगुहार गरेका थिए,’ एक ग्यास उद्योगीले भने, ‘अत्यन्तै सरल स्वभावका भट्ट ग्यास उद्योगकै कारण ऋणको दलदलमा परेका थिए।’

प्रकाशित मितिः     ७ असार २०७७, आईतवार १३:४६  |
error: Content is protected !!