लकडाउनले घाटामा नेपालगन्ज उपमहानगरको आम्दानी


नेपालगन्ज ९ असार :  नेपालगन्ज उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०७६र ७७ को राजश्व संकलनको लक्ष्य पुरा गर्न सकेन । कोरोना महामारीको प्रत्यक्ष प्रभाव उपमहानगरपालिकाले व्यहोर्नुपरेको छ ।

उपमेयर उमा थापामगरका अनुसार, रु १७ करोड राजश्व संकलनको लक्ष्य भए पनि रु १० करोड मात्र संकलन भयो । राजश्व संकलनको लक्ष्य अपुरो हुँदा विकास निर्माण मात्र होइन प्रशासनिक कामकाज सन्चालन समेत प्रभावित बनेको उपमेयर थापामगरले बताउनुभयो ।

तीन महिने लकडाउनका कारण कुनै व्यापार, व्यवसाय सन्चालन भएको छैन । त्यसले गर्दा व्यवसायीक कर प्रभावित हुने नै भयो । अन्य सम्पूर्ण कामकाज ठप्प हुँदा उठ्न सक्ने कर समेत संकलन हुन सकेन । एकातिर स्थानीय तहको आफ्नै आम्दानी यसरी घट्दो क्रममा छ भने अर्को तर्फ उद्योगी, व्यवसायीले घरबहाल र व्यवसायीक घर छुटको माग गर्दै आएका छन् ।


यद्यपी उपमहानगरले घरबहाल र व्यवसायीक करमा आंशिक छुट दिएको छ । त्यस्तै आगामी आर्थिक वर्षमा समेत कार्यान्वयन हुने गरी लकडाउन खुकिलो हुँदा समेत सन्चालन हुन नसकेका उद्योग, प्रतिष्ठान सन्चालन नआउँदासम्म व्यवसायीक कर छुट गर्ने गरी प्रस्ताव गरिएको छ ।

उपमानगरको आफ्नै करको लक्ष्य मात्र अपुग भएको छैन् । केन्द्रीय सरकारको तर्फबाट आउने राजश्व तर्फको अनुदान समेत नआउँदा आगामी बजेट समेत प्रभावित हुने देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकाको नगरसभा भोली हुँदै छ ।

प्रकाशित मितिः     3:41:27 PM  |