नेपालगन्ज एयरपोर्ट लगायतका सार्वजनिकस्थलमा बाँकेका प्रमुख पर्यटकीय गन्तव्यको तस्विर राखिने


नेपालगन्ज ९ असार :  नेपालगन्ज विमानस्थल लगायत सार्वजनिकस्थलमा बाँकेका पर्यटकीय गन्तव्य झल्किने तस्वीहरु राखिने भएको छ । जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समिति बाँकेको निर्णय अनुसार, चालु आर्थिक वर्षभित्रै त्यस्ता तस्विरहरु राखिने भएको हो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक समेत रहेका पर्यटन प्रर्बद्धन समितिका संयोजक अजय कुमार श्रीबास्तवका अनुसार फिर्ता जाने अवस्थामा पुगेको रु २ लाख बजेटलाई पर्यटन प्रर्बद्धनका लागि खर्च गर्न लागिएको हो । भत्ता, चिया नास्ता लगायतको कामका लागि भन्दै आएको बजेट पर्यटन प्रर्बद्धनमा खर्च गर्न लागिएको उनले बताए ।

केही दिन अघि बसेको जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले उक्त निर्णय गरेको हो । प्रदेशस्तरीय पर्यटन प्रर्बद्धन समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतले नेपालगन्ज विमानस्थल लगायतका सार्वजनिक ठाउँमा राखिने तस्विरको फ्रेम तयार गर्न लागिएको बताए । नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरलाई भेटेर श्रेष्ठ लगायतले तस्विर राख्ने विषयमा छलफल गरेका थिए ।

ठाकुरले उक्त विषयमा सकारात्मक कुरा गरेको श्रेष्ठले जानकारी दिए । यसअघि नै जिल्लाका पर्यटकीय गन्तव्यहरुको सूची तयार भइसकेको छ भने सो विषयमा थप छलफल हुँदै छ । श्रेष्ठले लकडाउनकैबीच पर्यटन प्रर्बद्धनका लागि भइरहेको कामका रुपमा बुझ्नुपर्ने बताएका छन् ।

 

प्रकाशित मितिः     7:14:34 PM  |