खुकुलो लकडाउनमा समेत सन्चालन हुन नपाएका प्रतिष्ठानलाई बिशेष छुट दिने प्रस्ताव


नेपालगन्ज १० असार :  नेपालगन्ज उपमहानगरपालिकाले खुकुलो लकडाउनमा समेत खुल्न नसकेका बिभिन्न प्रतिष्ठानलाई सहुलित दिने योजना बनाएको छ ।

होटल, क्यासिनो जस्ता सेवा क्षेत्र अहिले बन्द छन् । त्यस्ता प्रतिष्ठानबाट लिने ब्यवसायीक करमा बिशेष छुट दिने गरी प्रस्ताव तयार गरिएको उपमेयर उमा थापामगरले बताइन । बोर्ड बैठकबाट पारित भएको प्रस्ताव नगरसभामा प्रस्तुत गरिदैछ । कम्तिमा लकडाउन अन्त्य भई सन्चालन नहुँदासम्म त्यस्ता प्रतिष्ठानलाई व्यवसायीक करमा छुट दिने योजना बनेको छ ।

नगरसभाले पारित गरेपछि मात्र कार्यान्वयन हुने छ ।
उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०७६र ७७ को राजश्व संकलनको लक्ष्य पुरा गर्न सकेन । कोरोना महामारीको प्रत्यक्ष प्रभाव उपमहानगरपालिकाले व्यहोर्नुपरेको छ ।

रु १७ करोड राजश्व संकलनको लक्ष्य भए पनि रु १० करोड मात्र संकलन भयो । राजश्व संकलनको लक्ष्य अपुरो हुँदा विकास निर्माण मात्र होइन प्रशासनिक कामकाज सन्चालन समेत प्रभावित बनेको छ ।

तीन महिने लकडाउनका कारण कुनै व्यापार, व्यवसाय सन्चालन भएको छैन । त्यसले गर्दा व्यवसायीक कर प्रभावित हुने नै भयो । अन्य सम्पूर्ण कामकाज ठप्प हुँदा उठ्न सक्ने कर समेत संकलन हुन सकेन । एकातिर स्थानीय तहको आफ्नै आम्दानी यसरी घट्दो क्रममा छ भने अर्को तर्फ उद्योगी, व्यवसायीले घरबहाल र व्यवसायीक घर छुटको माग गर्दै आएका छन् ।

प्रकाशित मितिः     १० असार २०७७, बुधबार ०७:०९  |