नेपालगन्जको बजेट एक अर्व ४७ करोड(पूर्णपाठ सहित)


नेपालगञ्ज, असार १० गते । नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिकवर्ष २०७७/७८ का लागि एक अर्व ४७ करोड ९६ लाख ५४ हजार ७६० रुपियाँको अनुमानित वजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार भएको नगरसभामा अनुमानित बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च २४ करोड तीन लाख, पुँजिगत खर्च एक अर्व २० करोड र वित्तिय व्यवस्थातर्फ तनि करोड १० लाख व्यय हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

बजेटमा आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्न अपरिहार्य रहेकोमा जोड दिइएको छ ।

कोभिड १९ को कारणले सबैभन्दा बढि होटल, रेष्टुरेन्ट, क्यासिनो, ब्युटपार्लर लगायतका व्यवसायमा परेको असरको अवस्थालाई मध्यनजर गरि नेपाल सरकारले गरेको निर्णय बमोजिम खुल्ने र नखुल्ने पसुलहरु हेरी नखुल्ने पसल संचालन गरिरहेका व्यवसायीले व्यवसायकर पौष मसान्तभित्र बुझाएमा आव २०७७/२०७८ को लागि मात्र लकडाउन अवधिभरको दामासाहिले व्यवसायकर छुट दिइने प्रस्ताव गरिएको छ ।

यसैगरी बजेटमा कोभिड १९ को कारण स्वदेशमा फर्किन बाध्य युवाहरुलाई मध्यनजर गरि स्वदेशमै रोजगारी सिर्जना गरि आर्थिक रुपमा आत्मनिर्भर गराउन वैदेशिक रोजगारबाट फर्केकाहरुले नयाँ व्यवसाय संचालन गर्न चाहेमा व्यवसायमा लाग्ने करमा २५ प्रतिशत छुट दिइने प्रस्ताव गरिएको उपप्रमुख मगरले बताउनुभयो ।

अपांगता भएका व्यक्तिहरुको क्षमता विकास तथा व्यवसायमा प्रोत्साहन गर्न अपांगता भएका व्यक्ति संचालक भएको उद्योगि व्यवसायीलाई व्यवसायमा लाग्ने करको दरमा ५० प्रतिशत छुट दिइने र लघु, घरेलु, वातावरण अनुकुलनमा सहयोग पुर्याउने खालका उद्योग व्यवसाय तथा महिला संचालक भएको उद्योगि व्यवसायीहरुलाई प्रोत्साहन गर्न व्यवसायमा लाग्ने करको दरमा ३० प्रतिशत छुट दिइने प्रस्ताव पेश गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले ७ औं नगरसभामा बुधबार प्रस्तुत गर्नुभएको आव २०७७/७८ को अनुमानित बजेटको मुख्य अंश

कोभिड १९ ले गर्दा चालु आवमा अनुमानित आय पुरा नभएको अवस्थामा आउने आर्थिक वर्षमा पनि पर्न सक्ने असरहरुलाई अनुमान गरेर बजेट बनाउनु पर्ने बाध्यत्मक अवस्थालाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०७७/ २०७८ को महत्वकांक्षी अनुमानित आय व्यय प्रस्तुत गरिएको
छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ का लागि अनुमानित आय तथा व्यय विवरण-


आयको यथार्थ र अनुमानित विवरण
गतआर्थिक वर्ष २०७५/०७६ मा आन्तरिक श्रोततर्फ रु. १७ करोड ४१ लाख १० हजार आय अनुमान गरिएकोमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस का कारण राजश्व क्षमतामा कमी आई हालसम्म रु.१० करोड ७ लाख ९३ हजार राजस्व असुल भई करिब ५८ प्रतिशत लक्ष्य हासिल भएको छ । गत आर्थिक वर्ष को अनूभव तथा राजश्व सूधारका प्रयासबाट चालू आर्थिक वर्षको हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दा आन्तरिक श्रोत अनुमानको ६० प्रतिशत सम्मको लक्ष्य प्राप्ती हुने अनुमान गरिएको छ ।

आगामी आ.व.को आन्तरिक श्रोतको आयअनुमान रु.१७ करोड ४१ लाख प्रस्ताव गरिएको छ । संघीय तथा प्रदेश सरकारहरुबाट प्राप्तभएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा कुलआय १ अरब ४७ करोड ९६ लाख ५४ हजार ७ सय ६० हुने अनुमान गरेको छु । कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्तहुने अनुदानबाट प्राप्तहुने भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको छ ।

व्ययको यथार्थ र अनुमानित विवरण
गत आ.व. ०७५/ ७६ मा व्ययतर्फ चालू खर्च रु. ८० करोड ५ लाख ३३ हजार ८ सय ५२ रुपैयाँ मात्र विनियोजन भएकोमा ६९ करोड ३४ लाख २३ हजार ७ सय १८ रुपैयाँ ९६ पैसा मात्र (८६.६२%) यथार्थ खर्च भएको थियो भने पूंजिगतखर्च रु. ८६ करोड ७४ लाख ८१ हजार ७ सय ७६ रुपैयाँमात्र विनियोजन भएकोमा ५५ करोड ८० लाख ६१ हजार २ सय ६६ रुपैयाँ ९४ पैसा मात्र (६४.३३%) खर्च भएको छ भने चालु यस आर्थिक वर्षको मिति २०७७ असार ९ गते सम्मको खर्च सहित चालु खर्चतर्फ विनियोजन भएको ९० करोड ९३ लाख १३ हजार २ सय ४८ रुपैयाँ ९९ पैसा मध्ये ६३ करोड ५६ लाख ३८ हजार ११ रुपैयाँ ८२ पैसा (६९.९० प्रतिशत) पेश्की सहितखर्च भएको देखिन्छ । त्यस्तै पुँजीगतखर्च तर्फ १ अर्ब ९० करोड ८४ लाख ५२ हजार २ सय २४ रुपैयाँ ७९ पैसा मात्र विनियोजन भएकोमा सोहीमिति सम्म ६० करोड ५० लाख७७हजार ४ सय ९९ रुपैयाँ ८५ पैसा (३१.७१ प्रतिशत) खर्च भएको देखिन्छ ।

नेपालगन्ज उपमहानगरको अनुमानित आयको ठुलो भार व्यवसाय कर र घर बहाल कर हो । नगरको विकासको मेरुदण्ड भनेकै राजश्व भएको कुरालाई मध्येनगर गर्दै करदाता र उपमहानगरपालिकाको संयुक्त प्रयासबाट नगरको समग्र विकासमा हातेमालो गर्न रणनितिक रुपमा अघि बढ्नु पर्ने यर्थाथलाइ हामी बिर्सन सक्दैनौ । तथापि यस वर्ष कोभिड १९ को कारणले सबैभन्दा बढि असर होटल, रेष्टुरेन्ट, क्यासिनो, ब्युटपार्लरलगायतका व्यवसायमा परेको असरको अवस्थालाई मध्येनगर गरि नेपाल सरकारले गरेको निर्णय बमोजिम खुल्ने र नखुल्ने पसुलहरु हेरी नखुल्ने पसल संचालन गरिरहेका व्यवसायीले व्यवसायकर पौष मसान्तभित्र बुझाएमा आव २०७७/२०७८ को लागि मात्र लकडाउन अवधिभरको दामासाहिले व्यवसायकर छुट दिइने प्रस्ताव पेश गर्दछु ।

कोभिड १९ को कारण स्वदेशमा फर्किन बाध्य युवाहरुलाई मध्येनगर गरि स्वदेशमै रोजगारी सिर्जना गरि आर्थिक रुपमा आत्मनिर्भर गराउन वैदेशिक रोजगारबाट फर्केकाहरुले नयाँ व्यवसाय संचालन गर्न चाहेमा व्यवसायमा लाग्ने करमा २५ प्रतिशत छुट दिइने प्रस्ताव छ ।
अपांगता भएका व्यक्तिहरुको क्षमता विकास तथा व्यवसायमा प्रोत्साहन गर्न अपांगता भएका व्यक्ति संचालक भएको उद्योगि व्यवसायीलाई व्यवसायमा लाग्ने करको दरमा ५० प्रतिशत छुट दिइने प्रस्ताव छ ।

लघु, घरेलु, वातावरण अनुकुलनमा सहयोग पुर्याउने खालका उद्योग व्यवसाय तथा महिला संचालक भएको उद्योगि व्यवसायीहरुलाई प्रोत्साहन गर्न व्यवसायमा लाग्ने करको दरमा ३० प्रतिशत छुट दिइने प्रस्ताव पेश गरेको छु ।
साथै यस बजेटको प्रभावकारी कार्यान्वयनबाट नगरपालिकाको भौतिक पूर्वाधार विकास एंव सामाजिक क्षेत्रको विकासमा वाञ्छित लक्ष्य हासिल हुने हुँदा बजेटको सफल कार्यान्वयनका लागि विकास साझेदार संस्था, अन्तराष्ट्रिय, राष्टिय गैसस संचारक्षेत्र, निजी क्षेत्र, नागरिक समाज सबै क्षेत्रबाट सहयोगको अपेक्षा छ ।
धन्यवाद ।

उमा थापा
उपप्रमुख
नेपालगन्ज उपमहानगरपालिका

 

प्रकाशित मितिः     6:57:02 PM  |