यस्तो छ,नेपालगञ्ज उप–महानगरपालिकाको नीति तथा कार्यक्रम


नेपालगञ्ज, असार १० । नेपालगञ्ज उप–महानगरपालिकाले कृषि र स्वास्थ्यमा जोड दिदै आगामी आर्थिकवर्ष २०७७ को नीति तथा कार्यक्रम ल्याएको छ ।

बुधबार भएको ७ औं नगरसभामा नगर प्रमुख डा. धवलशम्शेर राणाले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ का कारण आन्तरिक आय अनुमानित भन्दा कम संकलन भएको, सङ्घ तथा प्रदेशबाट साविक भन्दा न्यून बजेट सिलिङ्ग प्राप्त भएकाले सिमित बजेटको आधारमा यथाशक्य सबै विषयगत क्षेत्रलाई समेट्ने गरि कार्यक्रम पेश गरिएको जानकारी दिनुभयो । कोभिड– १९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट दिइने कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषिलाई कार्यक्रममा प्राथमिकता दिइएको छ । यसैगरी स्वास्थ्य संस्था निर्माण र स्वास्थ्य सेवा प्रभावकारी बनाउन जोड दिइएको छ । भौतिक पूर्वाधारमा चक्रपथ निर्माणको काम अघि बढाउने, पक्की सडक र नाला निर्माण कार्यलाई निरन्तरता दिने, सडक मापदण्ड तयार गरि कार्यान्वयन गरिने उल्लेख गरिएको छ । विपन्नको आयस्तर उकास्न विपन्न वर्गसँग स्थानीय सरकार को अवधारणमा साझेदारी विकास कार्यक्रमलाई परिस्कृत र सघन रुपमा अघि बढाउने उल्लेख गरिएको छ ।

कार्यक्रममा कृषि र पशुपालनलाई प्राथमिकता दिदै कृषकलाई प्रोत्साहन गरिनेछ भनिएको छ । विद्यालय समायोजन तथा छात्रा विद्यालय र कलेज निर्माण सम्पन्न गरिने संचालन गरिने उल्लेख गरिएको छ ।

नेपालगञ्जलाई ५ नम्बरको राजधानी बनाउन पहल गर्ने भन्दै अन्यथा कर्णाल िप्रदेशमा समाहित हुन आवश्यक पहल गरिने छ भनिएको छ । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न पहल गर्ने कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत पारित भएको प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।

 

प्रकाशित मितिः     १० असार २०७७, बुधबार १९:१०  |