कोहलपुर नगरको सातौं नगरसभा : रु. ८६ करोडको बजेत प्रस्ताव


कोहलपुर, असार १० : बाँकेको कोहलपुर नगरपालिकाको सातौं नगर सभा बधुबार सुरु भएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले नगरसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/ ०७८ को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता दिईएको छ ।

नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रभावित आर्थिक,सामाजिक तथा विकास निर्माणको क्षेत्रमा परेको नकारात्मक प्रभावको समिक्षा समेत गरिएको छ । ‘जिवन रहे, जिवन सुधार्न र जिवन सिंगार्न सकिन्छ’ भन्ने नारालाई आत्मसाथ गर्दै आगामी आर्थिक वर्षको तीनि तथा कार्यक्रममा कोभिड–१९ विशेष कार्यक्रहरु समेटिएका छन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषिमा कोभिड विशेष कार्यक्रमहरु राखिएका छन् । नीति तथा कार्यक्रमा कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर भारत लगायत तेश्रो मुलुकवाट फर्किएका नागरिकहरुका लागि तत्काल आयआर्जनका अवसरहरु सृजना गर्न बिशेष रोजगार कार्यक्रम संचालन गरिने बताइएको छ ।

संक्रमणको सम्भावित जोखिम न्युनिकरणका लागि स्थापना भएका क्वारेन्टिन र आईसोलेशन केन्द्रमा विश्व स्वास्थ्य संगठनको प्रोटोकल र नेपाल सरकारको स्वास्थ्य निर्देशिका वमोजिमका आवश्यक पुर्वाधार सहित उपचार र परीक्षणको लागि आवश्यक प्रवन्ध गरिने बताइएको छ ।

त्यस्तै नीति तथा कार्यक्रममा संक्रमित नागरिकहरुको उद्धार, शब व्यवस्थापन, औषधी उपचार, राहत तथा पुर्नस्थापना र सचेतनामूलक कार्यका लागि कोभिड बिशेष कोषको स्थापना गर्ने बताइएको छ । त्यस्तै विदेशबाट फर्किएका व्यक्तिहरुलाई तत्काल रोजगारी प्रदान गर्न र नगरक्षेत्रमा खाद्यान्न संकट हुन नदिन “नगर प्रमुख कृषि बिशेष कार्यक्रम” , विशेष खाधान्न वालि तथा पकेट क्षेत्रको पहिचान, प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमहरु संचालन गरिने बताइएको छ ।


‘कोभिड–१९ लाई भगाउँ कृषिमा हामी सबैले सघाउँ’ भन्ने नारा सहित एक वडा एक उत्पादन पकेट क्षेत्र, साना किसान सुदृढिकरण कार्यक्रम, गाई भैंसी सुत्केरी भत्ता कार्यक्रम हरुलाई विशेष महत्व दिइउको छ ।

त्यस्तै नगरपालिकामा आवश्यक जनशक्ति सहित सर्पदंश र रेविज रोगको उपचारका केन्द्र स्थापना, सिकलसेल एनिमिया रोगको पहिचान तथा उपचारमा सहजता ल्याउन आवश्यक जनशक्ति सहित सिकलसेल एनिमिया ल्याब स्थापना लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै विपन्न दीर्घरोगी एवं जेष्ठ नागरिक, अपाङ्ग, जनआन्दोलन र जनयुद्धका घाईतेहरुको लागि स्वास्थ्य उपचार कोष स्थापना, खानेपानी, स्वास्थ्य तथा सरसफाई योजना , जातिय विभेद अन्त्यका लागि “नगर स्तरीय निगरानी केद्र” स्थापना गरी ‘विभेद विरुद्ध, नगर सरकार’ भन्ने मान्यतालाई स्थापित गर्ने , अपाङ्गता सूचना तथा परार्मश केन्द्र स्थापना , नगर स्तरीय युवा परिषद गठन, जेष्ठ नागरिकहरुका लागि एकिकृत स्वास्थ्य शिविर , नगरक्षेत्रमा रहेका मिडिया हाउसको विकास र प्रवद्र्धनका लागि मिडिया हाउस सहयोग कोष मार्फत मापदण्डमा आधारित वार्षिक अनुदान वितरण गरिने, संचारकर्मीहरुलाई उच्च सम्मान गर्दै यसै वर्ष नगर स्तरीय संचारग्राम निर्माण निर्माण गरिने, खरका छाना विस्थापन गरी टिनको छाना सहितका आवास बनाउने,जस्ता कार्यक्रमहरु समावेश गरिएका छन् ।

यसका साथै नगरपालिकाको समग्र शैक्षिक विकासको माध्यामवाट शैक्षिक केन्द्रको रुपमा विकास गर्न विस्तृत गुरुयोजना निर्माण गरी समग्र शैक्षिक क्षेत्रको सुधारको लागि आवश्यक कार्य गर्ने बताईएको छ भने सबै सामुदायिक विद्यालयहरुमा स्व्चछ पिउने पानी, स्वच्छ शौचालय सहित खेलकुद मैदानको निर्माण गरी सबै माध्यामिक विधालयहरुमा खेलकूद शिक्षकको व्यवस्था गरिने उल्लेख गरिएको छ । सो नीति तथा कार्यक्रममा शैक्षिक प्रतिवेदनलाई कम्प्युटरीकृत प्रोग्रामयुक्त बनाई “सामुदाकिय विद्यालयहरुमा एक शिक्षक एक ग्याजेटू कार्यक्रम लागू गरिने र विद्यालयमा कम्प्युटर र आइसिटी डिभाइसहरुको प्रयोग गरी अनलाइन अफलाइन आइसिटी भर्च्युअल सिकाइ कन्ट्रोल रुम स्थापना गरिने उल्लेख गरिएको छ ।

त्यस्तै उपप्रमुख सञ्जु कुमारी चौधरीले सभामा आर्थिक वर्ष २०७७÷०७८को लागि रु. ८६ करोड, १७ लाख १० हजार पाँच सय ११ रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेकी छिन् । जसमा संघिय सरकारबाट प्राप्त अनुदान ५३ करोड ३२ लाख, प्रदेश सरकारबाट प्राप्त पाँच करोड ३९ लाख ३९ हजार, आन्तरीक श्र्रोतबाट पाँच करोड राजश्व बाडफाँडबाट १३ करोड ९५ लाख ७१ हजार, अन्य आयबाट ८ करोड पाँच लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ ।

प्रकाशित मितिः     7:40:51 PM  |