नेपालगन्जमा पहेंलो सुनले मौलाउदै आर्थिक अपराध


बाँके ११ असार :  नेपालगन्जमा आर्थिक अपराधका घटना बढ्दै छन् ।

अझ यस्ता ठूला घटनामा सुनचाँदी व्यवसायीको बढ्दो संलग्नताले पहेंलो सुनको कालो धन्दा पर्दाफास भएको छ । पछिल्लो एक वर्षभित्र नेपालगन्जमा मात्र दुईवटा ठुला बैकिङ्ग कसुरका घटना भए । दुवै घटनामा सुनचाँदी व्यवसायसंग सम्बन्धित छ ।

गत वर्ष बैंकमा नक्कली सुन धितो राखेर रकम निकाल्ने गरिएको एउटा अपराधको घटनामा अदालतले आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यो घटना हो, सिटिजन्स् बैंकको । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नेपालगन्ज शाखामा नक्कली सुनका गहना धितो राखी फर्जी कागज बनाएर बैंकको ३ करोड २७ लाख घोटालामा संलग्नताका ७ जना अभियुक्त संग जनही २५/२५ लाख धरौटीमा रिह ागर्न आदेश दिएको थियो । न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त इजलासले दुई महिनादेखि थुनामा रहेका ७ जनालाई धरौटी माग गर्यो ।

बैंकका कर्मचारीको मिलेमतोमा बैंकलाई हानी नोक्सानी पुग्नेगरि ब्यापारीहरुबाट अनुचित फाइदा दिंदै आएको आरोपमा मुद्दा चलाइएको थियो । उनीहरुमाथि १० जना सुन ब्यबसायीहरुसंग मिलेमतो गरेर मुल्यांकन भन्दा कम परिमाणमा सुन धितो राख्ने, नक्कली कागज बनाएर बैंकलाई हानी पु¥याउँदै आएको आरोप लगाइएको थियो ।

धितो भन्दा धेरै ऋण दिने आरोप लागेका ३ जना बैंकका कर्मचारी र ऋण लिने १० जना ब्यबसायी सहित १३ जना बिरुद्ध उच्च अदालत नेपालगन्ज वाणिज्य इजलासमा उच्च अदालत सरकारी वकिल कार्यालयले बंैकिङ कसुरको अभियोगमा मुद्दा दायर गरेको थियो । बैंकका सुनजाँचकी ज्योतिका आफन्तनै यस प्रकरणमा ऋण लिनेमा धेरैजना छन् ।

सुन माफियाको गिरोहको मिलोमतोमा यी सबै घटना भएको थियो । बैंकको आन्तरिक लेखा परीक्षणका क्रममा ३ करोड २७ लाख रुपिया नोक्सानी खुलासा भएको हो ।


सिटिजन्स बैंकको घटना सेलाउँन नपाउँदै राष्ट्रिय वाणिज्य बैंक, त्रिभुवनचोकको १ करोड १५ लाख ठगी प्रकरण सार्वजनिक भएको छ । यो घटनामा पनि सुनचाँदी व्यवसायी मुख्यरुपमा अभियुक्त रहेको विषयमा प्र्रहरीले अनुसन्धान गरिरहेको छ । नेपालगन्ज –१३ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले नक्कली र किर्ते कागजात पेश गरी राष्ट्रिय वाणिज्य बैंकको त्रिभुवनचोक शाखाबाट रु १ करोड २४ लाख ऋण लिएको विषयमा प्रहरीले अनुसन्धान अगाडी बढाएको हो । जसगढ पक्राउ परेका छन् भने बैंकका कर्मचारी समेत अनुसन्धानको दायरमा आएका छन् ।

जसगढले जग्गाको लालपुर्जा,तिरो तिरेको रसिददेखि नक्सापाससम्म किर्ते गरी आफै तयार गरे । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसम्म किर्ते गरेका छन् । त्यसैबाट नक्कली धितो बनाएर उनले दुई पटक बैंकबाट ऋण लिएको पाइएको छ । जसगढले २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख ऋण लिए ।

जसगढले ऋण लिदा पेश गरेको धितो रुजु गर्ने क्रममा नक्कली भएको पाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाका अनुसार, सबैकाम फर्जी भेटिएपछि छानविनका लागि प्रहरीलाई अनुसन्धानका लागि अनुरोध गरेको थियो । प्रहरीले अनुसन्धानबाट नेपालगन्ज उपमहानगरपालिका मात्र होइन मालपोत कार्यालयको कागजात समेत नक्कली खडा गरेको पाइएको छ । मेयर राणाले भने,–‘जे जति प्रमाण आवश्यक पर्छ, त्यो सबै नक्कली खडा गरेको देखियो ।’

प्रहरीका अनुसार, जसगढले बैंकमा धितोका रुपमा चारवटा धितो पेश गरेका थिए । ती मध्ये दुईवठा नक्कली र एउटा क्षेत्रफल बढाएर किर्ते गरेको भेटिएको छ । बचेको एउटा जग्गाको मुल्य जम्मा चार लाखसम्म रहेको देखिन्छ । उनले वाणिज्य बैंक बाहेक अन्य आधा दर्जन बैंकमा कारोवार गर्दै आएको पाइएको छ ।

पहेलो सुनको कालोधन्दाका साना घटनाहरु त्यसै सेलाउँछन् । तस्करी गरेर सीमा वारपार गराइएका सुनचाँदी फेला परेका घटना त छदैछन् त्यसैभित्र हुने ठगी प्रकरणले ठुला अपराधिक घटनालाई सम्म निम्तो दिएका छन् ।

नेपालगन्जमा एकपछि अर्को गरी सुनचाँदी व्यवसायबाट उत्पन्न भएका आर्थिक अपराधका घटनालाई प्रहरीले चनाखो भएर हेरिरहेको पाइएको छ । हालसम् मभने ठुला घटना मात्र यसरी अनुसन्धान र सार्वजनिक भइरहेका छन् । बाँकेमा सहकारी ठगीले समेत आर्थिक अपराधलाई बढावा दिएको छ । गत वर्ष सहकारी वित्तीय विकास संस्था नेपालगन्जमा भएको करोडौं अपचलन प्रकरण ठुलो विषय बन्यो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले ३५ जनाविरुद्ध मुद्दा दर्ता गर्यो । यसअघि बाँके बचत तथा ऋण सहकारी संस्थामा पाँच करोड रुपैयाँभन्दा बढी अपचलन भएको थियो । बचतकर्ताले अहिलेसम्म रकम फिर्ता पाउन सकेका छैनन् ।
विजयकुमार गुप्ताको संयोजकत्वमा गठित संघर्ष समितिका पदाधिकारी र सदस्य रकम  ५२ करोड रुपैयाँ अधिकतम पुँजी रहेको सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीको संयोजकत्वमा गठित आन्तरिक छानबिन समितिले २६ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदन र जिल्ला सहकारी संघले गठन गरेको नवराज उपाध्याय संयोजक रहेको समितिले भने ३८ करोड १७ लाख ५० हजार अपचलन भएको प्रतिवेदन तयार गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आर्थिक अपराधका घटना बढ्दै गएका छन् । डिएसपी सुवास खड्काले यस्ता अपराध नियन्त्रण गरी दोषीलाई कारवाही गराउन प्रहरी सक्रिय भएको बताउँछन् ।

प्रकाशित मितिः     10:13:47 AM  |