बिपद्मा बिरामीको उपचारले उत्साहित मेडिकल कलेज, आईतवारबाट पहिले जस्तै सेवा दिने


नेपालगन्ज १२ असार :  कोरोना कहरमा अस्पतालले सामान्य बिरामीको उपचार नगरेको भन्ने गुनासो आइरहँदा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जले भने उदाहरण बन्न सफल भएको छ । अस्पतालले कोरोना कहरमा पनि बिना कुनै भेदभाव बिरामीको स्वास्थ्य उपचार गरेको प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले बताए ।

‘मध्य तथा सुदुर पश्चिमको रेफरल सेन्टरको रुपमा रहेको शिक्षण अस्पतालहरुले यस क्षेत्रका अति गरिब असाहय बिरामीहरुलाई समेत नेपाल सरकारले तोकेको मापदन्ड अनुसार विशेष छुट सुविधा दिई स्वास्थ्य सेवा दिदै आएका छौं ।’– बिहिवार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा डा. कनोडियाले भने ।

उनका अनुसार, कोभिड -१९ को महामारीले मुलुक आक्रान्त भएको असहज अवस्थामा पनि शिक्षण अस्पतालहरुले यस क्षेत्रका हजारौ बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गए पछि नेपाल सरकारले शिक्षण अस्पताल कोहलपुरलाई कोरोना संक्रमित बिरामीहरुको शल्यक्रिया सहित उपचार हुने सुबिधा सम्पन्न अर्थात लेभल -३ स्तरको अस्पतालको घोषणा गरेको अस्पतालका सहायक निर्देशक डा. नितेश कनोडियाले बताए । सोही अनुसार  शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित शल्यक्रिया गरेर उपचार गर्नु पर्ने बिरामीहरुको उपचार गरेको उनले जानकारी दिए ।

‘यसै क्रममा शिक्षण अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ३ जना बिरामीहरु शल्यक्रिया र उपचार पछि स्वास्थ्य लाभ गरेर कोभिड बार्डबाट डिस्चार्ज भएर नर्मल वार्डमा सिफ्ट हुनु भएको जानकारी गराउन पाउदा शिक्षण अस्पताल परिबार धेरै खुशी र उत्साहित भएको
छ ।’–डा. कनोडियाले भने ।

जिल्ला जनस्वास्थ्यको समन्वयमा भेरी अंचल अस्पतालले समयमा नै पिसिआर परिक्षण गरी सहयोग गरेकोमा अस्पतालका तर्फबाट धन्यवाद दिएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए । उनले भने,–‘विभिन्न समस्याका बाबजुद हाम्रो क्षेत्रमा पर्न आउने कोभिड( १९ बिरामीको जस्तो सुकै अवस्थामा उपचार गर्न यहांका संस्थाहरु सक्षम छन् ।’

संबेदनशिल अबस्थामा पनि शिक्षण अस्पताल कोेहलपुरले सबै किसिमका बिरामीहरुलाई गुणस्तरिय उपचार सेवा दिंदै आइरहेको छ । यस्तो जटिल अबस्थमामा पनि अस्पतालका निर्देशक डा. सुरेश कनोडियाले बिरामीहरुको उपचारमा उच्च मनोबलका साथ खटिनु भएका सबै चिकित्सकहरु तथा सबै स्वास्थ्यकर्मीहरुलाई विशेष धन्यवाद दिए ।

कोरोना संक्रमितहरुलाई समेत उपचार सेवा प्रदान गर्दै आएको शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आउने सबै किसिमका बिरामीहरुलाई अस्पतालले उच्च स्तरको उपचार सेवा प्रदान गर्दै आएको छ ।

बिश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण फैलन नदिनका लागि निर्धारण गरेका सबै मापदण्डहरुको पालना गरेर अस्पतालले उपचार सेवा प्रदान गर्दै आएकाले ढुक्क भएर उपचार सेवा सेवा लिन सबैलाई अनुरोध गरिएको छ । साथै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले असार १४ गतेबाट बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म पहिले जस्तै सबै सेवाहरु संचालन गर्ने जानकारी गराइएको छ । अस्पतालको पत्रकार सम्मेलनमा मेडिकल कलेजका प्रिन्सिपल मोदनाथ मरहठठ, निर्देशक भोजराज जोशी लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः     १२ असार २०७७, शुक्रबार १४:३७  |