नेपालगन्ज १६ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० स्थित जय जनता माध्यामिक बिद्यालयले सन्चालन गरेको कृषि फार्ममा नियमित काम सन्चालन भइरहेको छ ।
विद्यार्थीदेखि अभिभावकसम्मले फार्ममा काम गरिरहेको र कृषि उत्पादनमा सघाइरहेको देख्न पाइन्छ । धेरै जसो सरकारी विद्यालयले आफुलाई प्राप्त जग्गा बेवारिसे छाड्ने गरेका छन् ।
तर उक्त विद्यालयले महायज्ञबाट जोडेको जग्गामा कृषि उत्पादनमा प्रयोग गरेको छ ।
गत वर्षदेखि बिद्यालयले ४ बिघा १८ कठठ जग्गामा तरकारी उत्पादन शुरु गरेको प्रअ राम पाण्डेले जानकारी दिए ।
बाली विज्ञान पढ्ने विद्यालयका शिक्षक, विद्यार्थी देखि कामदारले कृषि फार्ममा काम गर्दै आएका छन् ।
गत वर्ष डेढ सय किलो प्याज विक्री गरिएको थियो । खाली जग्गा मध्ये एक हेक्टरमा तीनवटा माछापोखरी बनाउन लागिएको प्रअ पाण्डे बताउँछन् ।
कृषि उत्पादनको दायरा हरेक वर्ष जसो बढाउँदै लैजाने तयारी भइरहेको छ ।
यहाँ उत्पादनका तरकारी स्थानीय बासिन्दाले नै खरिद गर्छन । धेरै भयो भने राँझा चोकमा विक्री वितरण गरिन्छ ।
आम्दानी र खर्चको व्यवस्थापन विद्यालयले नै गर्दै आएको छ ।
ेकेही वर्ष अघि लगाइएको धार्मिक महोत्सवको आम्दानीबाट जग्गा खरिद गरिएको थियो । केहीले जग्गा नै दान गरेका थिए ।
सोही जग्गालाई अहिले कृषि उत्पानको काममा प्रयोग गरिएको हो ।
यसले विद्यालयको आर्थिक विकासमा सहयोग पुर्याएको छ भने अन्य विद्यालयलाई पाठ सिकाएको छ ।