नरैनापुरमा विद्युत पुग्यो


नेपालगन्ज १५ असार : बाँके जिल्लाको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा लामो समयपछी विद्युत् सेवा पुगेको छ । विद्युतको प्राविधिक काम समापन भएपछी आइतबारदेखि परीक्षणका लागि विद्युत करेन्ट प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिए ।

विद्युत परीक्षण सकिए लगत्तै जनतालाई विद्युत् सेवा वितरण शुरु गरिने भएको छ । लामो समयदेखी नरैनापुरबासीले विद्युतको उपभोग गर्न नपाएपनी अहिले बन्दाबन्दी अवस्थामै नरैनापुरमा विद्युतीकरणले सार्थकता पाउँदै छ ।

विगतमा ग्रामीण विद्युतीकरण समितिका नाममा काम अल्झिँदै आएकाले त्यसलाई स्थगन गरी विद्युत् प्राधिकरणलाई जिम्मा दिएसँगै विद्युतीकरणको कामले सार्थकता पाएको हो ।

नेकपा केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री यादवले आफू उक्त क्षेत्रको सांसद हुँदा शुरु गरिएको विद्युतीकरणको कामले अहिले पूर्णता पाएकोमा गर्वको अनुभूति भएको बताउँदै अब नरैनापुरवासीले अँध्यारोमा बस्नु नपर्ने जिकिर गरे ।

नरैनापुरमा कोरोना महामारी फैलिएपछि आइसोलेशन केन्द्र सञ्चालनका लागि विद्युतीकरण गर्न उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराज र प्रदेशसभा सदस्य कृष्ण केसीले पनि निरन्तर चासो देखाउँदै आएका छन् ।

विद्युत् नहुँदा गाउँपालिकामा क्वारेन्टिन व्यवस्थापनमा समेत कठिनाइ भइरहेको थियो भने विद्युत् लाइन विस्तार हुँदा आगामी दिनमा काम गर्न सहज भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बताउछन् ।

प्रकाशित मितिः     १६ असार २०७७, मंगलवार १४:४२  |