नेपालगन्ज १८ असार : नेपालगन्जका उद्योगपति कन्हैयालाल बैद्यले सन्चालन गरेको बिजय मेटल उद्योग (भिएमआई) समूह अन्र्तगत चार सय बढिले रोजगारी पाएका छन् । लडकाउनका कारण उद्योग सन्चालन प्रभावित बनेको छ भने त्यहाँ कार्यरत मजदुरलाई समस्या भइरहेको छ । उनको उद्योग देशकै मेटल उद्योगमा उत्कृष्ट मानिन्छ ।
लकडाउनका कारण सबैजसो उद्योगी,व्यवसायीलाई यस्तै समस्या भइनै रहेका छन् । बैद्यले बिहिवार नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको एउटा कार्यक्रममा व्यवसायीका यिनै समस्याको पोको फुकाएका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने सहुलियतको प्रभावकारी कार्यान्वयनका लागि आयोजना गरिएको कार्यक्रममा बैद्यले भने,–‘समस्या भनिसाध्य छैन् । फेरी समस्या उद्योगीको मात्र होइन । चिया बेच्नेदेखि ठुला उद्योगीलाई मर्का परेको छ । फरक यति मात्र हो चिया बेच्नेलाई हजारको संकट, उद्योग चलाउनेलाई लाखको ।’
बैद्य उद्योगी, व्यवसायीमा समस्याको पहिचान गरी सरोकारवाला निकायलाई राख्ने प्रष्ट वक्ताका रुपमा परिचित छन् । उनले उद्योगी, व्यवसायीको संकट नटरेको बताउँदै भने,–‘संकट टरेको छैन् । आगामी आर्थिक वर्ष हाम्रा लागि झनै चुनौतीपूर्ण बन्नेवाला छ । कोरोनाले गर्दा होइन भोकैले पो मर्नुपर्ने अवस्था आउँदै हो की ?’
उनले एउटा चिया पसलेले चिया बेचेर दैनिकी टार्न नसकेको बताए । ‘कसैबाट राहत छैन् । यस्तो अवस्थामा कसरी चल्छ दैनिकी ?’– बैद्यले भने । उनले एक सुको आम्दानी नभएको अवस्थामा बैंकको ऋण र ब्याज कसरी बुझाउने हो भन्ने चिन्तामा सबै जसो उद्योगी, व्यवसायी रहेको बताए । ‘मेरो कर्मचारीलाई सरसापट गरेर भए पनि थोरबहुत पैसा दिएको छु । यस्तो तालले कति दिन चल्छ ।’ बैद्यले भने–‘ यस्तो अवस्थाको अन्त्य कसरी गर्ने सरकारले सोच्नुपर्छ ।’