चार सयलाई रोजगारी दिने उद्योगी कन्हैयालाल बैद्य भन्छन्–‘समस्या भनिसाध्य छैन’


नेपालगन्ज १८ असार :  नेपालगन्जका उद्योगपति कन्हैयालाल बैद्यले सन्चालन गरेको बिजय मेटल उद्योग (भिएमआई) समूह अन्र्तगत चार सय बढिले रोजगारी पाएका छन् । लडकाउनका कारण उद्योग सन्चालन प्रभावित बनेको छ भने त्यहाँ कार्यरत मजदुरलाई समस्या भइरहेको छ । उनको उद्योग देशकै मेटल उद्योगमा उत्कृष्ट मानिन्छ ।

लकडाउनका कारण सबैजसो उद्योगी,व्यवसायीलाई यस्तै समस्या भइनै रहेका छन् । बैद्यले बिहिवार नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको एउटा कार्यक्रममा व्यवसायीका यिनै समस्याको पोको फुकाएका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने सहुलियतको प्रभावकारी कार्यान्वयनका लागि आयोजना गरिएको कार्यक्रममा बैद्यले भने,–‘समस्या भनिसाध्य छैन् । फेरी समस्या उद्योगीको मात्र होइन । चिया बेच्नेदेखि ठुला उद्योगीलाई मर्का परेको छ । फरक यति मात्र हो चिया बेच्नेलाई हजारको संकट, उद्योग चलाउनेलाई लाखको ।’

बैंक सहुलियतको प्रभावकारी कार्यान्वयनको माग

बैद्य उद्योगी, व्यवसायीमा समस्याको पहिचान गरी सरोकारवाला निकायलाई राख्ने प्रष्ट वक्ताका रुपमा परिचित छन् । उनले उद्योगी, व्यवसायीको संकट नटरेको बताउँदै भने,–‘संकट टरेको छैन् । आगामी आर्थिक वर्ष हाम्रा लागि झनै चुनौतीपूर्ण बन्नेवाला छ । कोरोनाले गर्दा होइन भोकैले पो मर्नुपर्ने अवस्था आउँदै हो की ?’

उनले एउटा चिया पसलेले चिया बेचेर दैनिकी टार्न नसकेको बताए । ‘कसैबाट राहत छैन् । यस्तो अवस्थामा कसरी चल्छ दैनिकी ?’– बैद्यले भने । उनले एक सुको आम्दानी नभएको अवस्थामा बैंकको ऋण र ब्याज कसरी बुझाउने हो भन्ने चिन्तामा सबै जसो उद्योगी, व्यवसायी रहेको बताए । ‘मेरो कर्मचारीलाई सरसापट गरेर भए पनि थोरबहुत पैसा दिएको छु । यस्तो तालले कति दिन चल्छ ।’ बैद्यले भने–‘ यस्तो अवस्थाको अन्त्य कसरी गर्ने सरकारले सोच्नुपर्छ ।’

प्रकाशित मितिः     १८ असार २०७७, बिहीबार १७:५२  |