नेपालगन्जका घरधनीले स्वस्फुर्तरुपमा भाडा छुट दिन थाले,सबैले छुट दिने बिश्वासमा संघ


नेपालगन्ज २० असार :  नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यले आफ्नो घरमा भाडामा बसेका उद्योगी, व्यवसायीलाई घरबहाल छुट दिने स्वघोषणा गरेसंगै यसको सकारात्मक प्रभाव पर्न थालेको छ ।

संघका पदाधिकारी एवं कार्यसमितिका सदस्यले कोरोनाबाट प्रभावित उद्योगी, व्यवसायीको राहतका लागि आफ्नो घरमा बस्ने व्यवसायीबाट बहाल नलिने घोषणा गर्दै कार्यान्वयन गरेका थिए ।

सरकारले घरबहाल नलिन घरधनीका हकमा अनुरोध गरे पनि कार्यान्वयन नभइरहेका बेला नेपालगन्ज उद्योग वाणिज्य संघले सकारात्मक पहल गरेको थियो ।

आन्दोलनका कार्यक्रम बनाउँदै संघ, पदाधिकारीले आफैबाट घरभाडा छुट अभियान शुरु गरे

संघको असार १६ गते बसेको बैठकले संघका पदाधिकारी तथा कार्यसमिति सदस्यले कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुको घरभाडा छुट, सहुलियत गर्न, गराउनका लागि आ–आप्mनो क्षेत्रबाट पहल गर्नुपर्ने र पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको घरमा व्यवसाय सञ्चालन गर्ने, व्यवसायीहरुलाई घरभाडा छुट गर्नका लागि सहमति र समझदारीका आधारमा छुट गर्ने सर्वसम्मतिबाट निर्णय गरेको थियो । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले आफ्नो क्षमता र सार्मथ्यका आधारमा बहालमा रहेको घरको भाडा नलिएको बताए ।

अरुले नगरे पनि शुरुवात आफैबाट गर्नुपर्छ भनेर उक्त निर्णय गरी कार्यान्वयनमा ल्याएको मन्सुरीले बताए ।
संघका महासचिव चिरञ्जीवी ओलीले संघको निर्णयको सकारात्मक नतिजा आएको बताएका छन् ।

उनले सरकारको तर्फबाट कुनै पनि राहत नपाएको अवस्थामा घरभाडा छुटले पनि व्यवसायीलाई ठूलो राहत प्रदान गरिहेको जानकारी दिए । महासचिव ओलीले घरभाडा छुटका लागि घरधनीसंग प्रत्यक्ष संवाद र मध्यस्थता समेत गरेर छुट दिलाउने काम भइरहेको बताएका छन् ।

 

 

प्रकाशित मितिः     २० असार २०७७, शनिबार १४:१७  |