जसले असारमा तिर्नुपर्ने रकम तिर्न सक्दैनन् उनीहरुलाई बैंकले हेर्छ, तिर्न सक्नेले तिर्नुपर्छ – गर्भनर


काठमाडौं । कोरोना भाइसर (कोभिड १९)बाट थलिएका ऋणीलाई जब्बरजस्ती ऋण तिर्न बाध्य नबनाउन बैंकलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ । बैंकहरुले असार मसान्त नजिकिँएसँगै निरन्तर फोन गरेर ऋणीलाई दबाब दिन थालेपछि केन्द्रीय बैंकले त्यसो नगर्न निर्देशन दिएको हो ।

‘कुन ऋणीको अवस्था के छ ? असारमा ऋणको साँवा, ब्याज वा किस्ता तिर्न सक्छ कि सक्दैनन्, तपाईहरुलाई (बैंकलाई) थाहा छ, त्यसलाई हेरेर मात्रै अघि बढ्नुस्, भनेर भनिसकेको छु’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने, ‘आफ्ना ऋणीको बारेमा बैंकलाई जानकारी हुने हुँदा त्यही अनुसार व्यवहार गर्न निर्देशन भएको छ ।’

कुन ऋणीले असारमा साँवा, ब्याज तिर्न सक्छ भन्ने बैंकहरुलाई थाहा हुन्छ । तिर्न सक्नेबाट उठाउँनु र नसक्नेलाई छाडिदिन केन्द्रीय बैंकले भनिसकेको छ । ‘कोरोनाबाट सबैखाले व्यवसायी पीडित बनेका छैनन्,’ अधिकारीले भने, ‘जुन जुन क्षेत्र बढी प्रभावित भएको छ, जसले यो असारमा तिर्नुपर्ने रकम तिर्न सक्दैनन्, उनीहरुलाई बैंकले हेर्छ । तिर्न सक्नेले तिर्नुपर्छ ।’

तर, अहिले बैंकहरुले आफ्ना हरेक ऋणीलाई फोन गरेर तत्काल ब्याज तिर्न आउन दबाब दिइरहेको गुनासो केन्द्रीय बैंकमा आउने गरेको अधिकारीले बताए । असामान्य परिस्थितिलाई बुझेर काम गर्न बैंकहरुलाई निर्देशन भएको उनको भनाइ छ ।

साउन १५ सम्मको कारोबारलाई चालू आवभित्रै राख्ने प्रावधान भएकाले असारमा तिर्न सक्नेले तिर्छन्, नसक्नेलाई केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने केन्द्रीय बैंकको बुझाई छ ।


नियामक निकायले ल्याएको निर्देशनलाई लत्याउँदै अघि बढेका बैंकहरुले अहिले धमाधम ऋणीलाई ब्याज तिर्न दबाब दिएको उद्योगीहरु बताउँछन् । चैत मसान्तमै ब्याज बुझाउने ऋणीलाई १० प्रतिशत छुट पनि सबै बैंकले सबै ऋणीलाई दिएनन् । २ प्रतिशत बिन्दूले ब्याज पनि घटाएनन् । अहिले कोभिडबाट व्यापार व्यवसाय चौपट भएका व्यवसायीलाई पनि ऋण तिर्न ताकेता गरिरहेको उद्योगीहरु बताउँछन् ।

उद्योगीले ६ महिनाको ब्याजलाई पुनर्सरचना गरेर नयाँ ऋणको रुपमा परिणत गर्न माग गरेका छन् । तर, अहिलेसम्म केन्द्रीय बैंकले यसलाई सम्बोधन गर्न कुनै निर्देशन ल्याएको छैन् । बैंकहरुले पनि निर्देशन नआएको भन्दै ऋणीलाई तत्काल ऋण तिर्न दबाब दिइरहेको उद्योगीहरु बताउँछन् ।

क्यापिटल नेपाल डटकमबाट साभार

 

प्रकाशित मितिः     8:07:31 AM  |