फकाएर ऋण उठाउन बैंकको सर्कुलर


काठमाडौं । ऋणीलाई अनावश्यक दबाब दिएर ऋण उठाइरहेको समाचार बाहिरिएपछि फकाएर ऋण उठाउन बैंकहरुले आन्तरिक सर्कुलर गरेका छन् ।

कुनै पनि ऋणीलाई अनावश्यक दबाब, धम्क्याएर साँवा ब्याज तथा किस्ता नउठाउन बैंकहरुले आफ्ना शाखाहरुलाई निर्देशन दिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

राष्ट्र बैंकले पनि ऋणीलाई फकाएर मात्रै साँवा ब्याज उठाउन निर्देशन दिएको छ । सोही अनुसार सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले ऋणीलाई फकाएर, फुल्याएर असार मसान्तसम्मा उठाउनुपर्ने साँवा ब्याज उठाइरहेको दाहालले जानकारी दिए ।

जसले असारमा तिर्नुपर्ने रकम तिर्न सक्दैनन् उनीहरुलाई बैंकले हेर्छ, तिर्न सक्नेले तिर्नुपर्छ – गर्भनर

उनका अनुसार बैंकलाई कुन ऋणीको अवस्था कस्तो छ रु उनीहरु असार मसान्तमा ऋण तिर्न सक्छन् कि सक्दैनन् भन्ने बैंकलाई थाहा छ । जो ऋणी तिर्न सक्छन्, त्यस्ता ऋणीलाई मात्रै तिर्न अनुरोध गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले जनाएका छन् ।


यदि कुनै बैंक धम्क्याएर ऋण तिर्न दबाब दिए बैंकर्स संघमा उजुरी दिन दाहालले अनुरोध गरे । बैंकर्स सघमा पनि गुनासो सुनुवाई समिति बनाएको दाहालले जानकारी दिए ।

नेपाल बैंकर्स संघमा गुनासो सुनुवाई समिति नै बनाइएको छ । संघले एक महिना अघि नेपाल एसबीआई बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागरको अध्यक्षतामा गुनासो सुनुवाई समिति बनाएको दाहालले जानकारी दिए । सो समितिका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिृकत जनक शर्मा पौड्याल छन् ।

ऋणीको गुनासोलाई सम्बोधन गर्न बैंकर्स संघ आफैले सक्रियाता बढाएको दाहालले जानकारी दिए । ‘ऋणीको समस्या बैंकर्स संघले नै गर्ने उद्देश्यले समिति गठन गरेको हो । यदि बैंकर्स संघले उनीहरुको समस्या समाधान गर्न नसके मात्रै केन्द्रीय बैंक जाउन भन्ने हो,’ उनले भने ।

कुनै बैंक वा शाखाले नबुझेर पनि ऋणीलाई अनावश्यक दुख दिन सक्ने भनेर बैंकर्स संघले समिति गठन गरेको हो । ऋणीले बैंक तथा बैंकर्स संघमा आफ्नो् गुनासो राख्न सक्ने दाहालले जानकारी दिए ।

क्यापिटल नेपालडटकमबाट

प्रकाशित मितिः     6:51:27 PM  |