रझेनाको जग्गा ‘भुमाफिया’को कब्जाबाट मुक्त नगरे आन्दोलन गर्ने राजनीतिक दलको चेतावनी


कोहलपुर २९ असार :  कोहलपुर नगरपालिका वडा नं. ४ स्थित किरणनालामा रहेको सरकारी जग्गा सुकुम्वासीका नाममा पहुँचवाला व्यक्तिलाई वितरण गरेको भन्दै त्यहाँ राजनीतिक दलले गम्भीर आपत्ती व्यक्त गर्दै जग्गा वितरण प्रक्रिया खारेज गर्न चेतावनी दिएका छन् । वितरण गरिएको जग्गा खारेज नगरे कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

साविकको रझेना गाविस वडा नं. ३ ख कित्ता नं.७६,७७,७८ र ७९ को ६-०-० जग्गा अवैधानिक तरिकाले ४१ जना व्यक्तिको नाममा दर्ता गराइएको थियो । भुमिसुधार कार्यालय बाँकेले असार २३ गते राजश्व असुली गर्न भनेपछि स्थानीयले यस सम्बन्धमा थाहा पाएका हुन ।

उक्त सरकारी जग्गा भुमाफियाको कब्जाबाट मुक्त गरी संरक्षण गर्न राजनीतिक दलले कोहलपुर नगरपालिकासंग माग गरेका छन् । अन्यथा कडा आन्दोलन गर्ने उनीहरुको भनाई छ ।


यसरी बिज्ञप्ती जारी गर्ने राजनीतिक दलहरुमा नेकपाको नगर कमिटी अध्यक्ष बसन्ती अधिकारी,काग्रेस नगर सभापति बलराम शर्मा, राजमो अध्यक्ष भिमप्रसाद देवकोटा, राप्रपाका सहसचिव रुद्रमणी न्यौपाने, नेमकिपाका अध्यक्ष अजीरबहादुर शाही लगायत रहेका छन् ।

प्रकाशित मितिः     9:22:22 PM  |