राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न कम्पनीलाई ऊर्जा बचत अनुदान हस्तान्तरण


नेपालगन्ज ३० असार : राष्ट्रिय वाणिज्य बैंकले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने उपकरण जडान गरेका कम्पनीहरूलाई अनुदान प्रदान गरेको छ । बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई सहयोग गरेको हो ।

स्वीकृत अनुदान कार्यविधिअनुसार अशोक स्टिल इन्डस्ट्रिजलाई १ करोड रुपैयाँ, सीताराम गोकुल मिल्सलाई २० लाख १ हजार १ सय ३१ रुपैयाँ, गोयन्का स्टिललाई ५ लाख ६० हजार ४ सय रुपैयाँ प्रदान गरेको बैंकले जनाएको छ । अनुदान रकमको चेक सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा उनले अन्य उद्योगहरूलाई ऊर्जा बचत कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । त्यस्तै, अन्य बैंकको तुलनामा आफ्नो बैंकको आधार दर कम भएकाले कर्जा सुविधा लिन पनि आग्रह गरेका थिए । नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम आर्थिक अनुदान दिइएको बैंकले जनाएको छ ।

बैंकले ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनका लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सीका रूपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ । यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूलासाना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम उपलब्ध गराइने बैंकले जनाएको छ ।

आयोजनाअन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

प्रकाशित मितिः     ३० असार २०७७, मंगलवार १०:२७  |