उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्यो,कसको प्यानलमा को-को ?


काठमाण्डौं :  उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी तातेको छ ।

आगामी साउन २६ र २७ गते हुने महासंघको अधिवेशनमा दुई उद्योगीरव्यवसायीहरु प्यानलले नै लिएर चुनावी मैदानमा उत्रिने भएका छन् ।

महासंघको परिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था छ । सो व्यवस्था अनुसार साउन २६ पछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष चयन हुनेछन् । त्यसपछि अन्य पदका लागि भने निर्वाचन हुनेछ ।

अर्को कार्यकालका लागि अध्यक्ष हुने लक्ष्यसहित हालका दुई उपाध्यक्षहरु किशोर प्रधान र चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दैछन् । उनीहरुले लकडाउन हुनु अगावै उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

अब उनीहरु आफू-आफू मात्रै नभएर प्यानलसहित चुनावमा जाने भएका छन् । ढकाल समूहको प्यानल मंगलबार औपचारिक रुपमा घोषणा हुँदैछ । उता प्रधान समूहको प्यानल घोषणको समेत तयारी भइरहेको छ ।

कसको प्यानलमा को-को ?

ढकाल समूहले मंगलबार कुन पदमा कसलाई उठाउने भनेर औपचारिक रुपमै घोषणा गर्दैछ । यसका लागि यस समूहले मंगलबार दिउँसो बालुवाटरको एक पार्टी प्यालेसमा घोषणा सभाको आयोजना गरेको छ ।

ढकाल समूहबाट जिल्ला-नगरउपाध्यक्षमा गुणनिधि तिवारीलाई उठ्दैछन् । उनी हाल महासंघको प्रदेश ५ कमिटीको अध्यक्ष छन् । वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने भएका छन् । यसैगरी एशोसिएट उपाध्यक्षमा ढकाल समूहले रामचन्द्र संघईलाई उम्मेदवार बनाउने भएको छ ।

उता प्रधान समूहबाट जिल्ला-नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिनेछन् । उनी महासंघको प्रदेश ३ कमिटीका अध्यक्ष हुन् । प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा भने अटो व्यवसायी अञ्जन श्रेष्ठ उठ्ने भएका छन् भने एशोसिएट उपाध्यक्षका लागि शौरभ ज्योति तयार भएका छन् ।

ढकाल समूहले बुधबार नै प्यानल घोषणा गर्ने भए पनि प्रधान समूहले भने अहिले नै प्यानल घोषणाका लागि मिति तय गरेको छैन ।

प्रकाशित मितिः     ३० असार २०७७, मंगलवार १२:२६  |