प्रधानमन्त्रीलाई बदनाम गराउने षडयन्त्र : स्वीस बैंकमा ५.५ मिलियन जम्माको हौवा


नेपालगन्ज ३१ असार :  ग्लोबल वाच एनालाइसिसका हवाला दिदै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा खाता र ५.५ मिलियन डलर जम्मा रहेको भन्दै प्रकाशित समाचार झुठो सावित भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधवार प्रेस बिज्ञप्ती जारी गरी  ग्लोबल वाच एनालाइसिसूको हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

थापाले स्वीस बैंकमा खाता र ५।५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट पारेका छन् । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीजलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक रहेको बिज्ञप्तीमा उल्लेख छ ।


राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीजले राष्ट्रको नेतृत्व सम्हालिरहेको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै भएको थापाले बताए ।

आम नेपालीहरूलाई यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न गरिएको छ । सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गरिएको छ ।

प्रकाशित मितिः     8:57:28 AM  |