महिन्द्राले उपलब्ध गरायो पुरानै मूल्यमा इलेक्ट्रिक गाडी ईटुओ


काठमाडौं – महिन्द्रा इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि इनर्जी प्रालिले बिक्रीका लागि उपलब्ध महिन्द्रा ईटुओ  पुरानै मूल्यमा बिक्री गरेको छ ।

कम्पनीले जेठ १५ को बजेट भन्दा पहिले नै नेपाल भित्रिएका सबै १४ युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरेको बताएको छ । आफूहरुसँग स्टकमा रहेका लगभग सबै गाडी ग्राहकलाई हस्तान्तरण गरेको र अब प्रदर्शनका लागि मात्र केही गाडी उपलब्ध भएको अग्नि इनर्जी प्रालिका सिनियर म्यानेजर प्रमोद भण्डारीले बताए ।

उनका अनुसार हाल नेपाली बजारमा इटुओका पि फोर र पि सिक्स गरी दुई मोडलका कार उपलव्ध छन् । बजेटअघि यी कारको मूल्य क्रमशः २२ लाख ६५ हजार र २४ लाख रुपैयाँ रहेकोमा नयाँ ल्याउँदा एउटै कारमा १२ देखि १५ लाखसम्म बृद्धि हुने उनले बताए । बजेट सार्बजनिक भइसकेपछि पनि आफूहरुले स्टकमा रहेका सम्पूर्ण कारलाई पुरानै मुल्यमा बिक्री गरेको उनको भनाइ छ ।

इटुओ नेपाली बजारमा अत्यधिक मात्रामा रुचाइएको इलेक्ट्रिक कार हो । सानो आकारको यो कारलाई फुच्चे कारको नामले समेत चिन्ने गरिन्छ । हेर्दा सानो देखिए पनि यसमा उपलव्ध फिचर भने अत्याधुनिक एवं सुबिधासम्पन्न छ । पावर, पर्फमेन्स र फिचरका कारण इटुओले इलेक्ट्रिक कार पारखीहरुको बिश्वास जित्न सफल भएको भण्डारी बताउँछन् ।

सरकारले यसअघि इलेक्ट्रिक कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत मात्रै सडक दस्तुर लिदै आएको थियो ।

अर्थमन्त्रीले विद्युतीय सवारीसाधनमा यसअघि १० प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा बढाएर ८० प्रतिशतसम्म पु¥याएका छन् । यसअघि विद्युतीय सवारीसाधनमा अन्तःशुल्क लाग्दैनथ्यो, तर उनले यस्ता गाडीमा पनि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएका छन् । सडक निर्माण दस्तुर यसअघि ४ प्रतिशत लाग्दै आएकोमा ५ प्रतिशत पु¥याएका छन् ।

हालका वर्षहरूमा भन्सार दरमा ५० प्रतिशत छुट दिइएकाले विद्युतीय सवारीसाधन खरिद गर्दा उपभोक्ताले भन्सारमा ४० प्रतिशत तिर्नुपर्नेछ । यसरी समग्रमा विद्युतीय गाडीमा यथार्थ मूल्यको दुई सय प्रतिशत अर्थात् दुई गुणासम्म कर तिर्नुपर्नेछ ।

प्रकाशित मितिः     ३१ असार २०७७, बुधबार १३:०३  |