नेपालगन्ज १ साउन : कोहलपुरमा रहेको पाँच तारे होटल सेन्ट्रल प्लाजा आंशिकरुपमा खुलेको छ ।
बिहिवारदेखि उक्त होटलले होमडेलीभरी र गेटअवे सर्भिस शुरु गरेको छ । लकडाउन अवधिभर ठप्प रहेको होटलमा सामान्य चहलपहल शुरु भएको एचरआर बिभागका युवराज ओलीले जानकारी दिए ।
यद्यपी होटल पूर्णरुपमा सन्चालनमा आउन अझै केही महिना लाग्ने छ । अहिले सेवाग्राहीलाई कोरोनासंग लड्नका लागि आवश्यक पर्ने रोगप्रतिरोधात्मक क्षमता युक्त सुपर खानाका परिकारको होमडेलीभरी गरिने बजार व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिए । त्यसका लागि एक्जुकेटिभ सेफ राजेन्द्र घिमिरेले बताए ।
ठूलो लगानीमा खुलेको सो होटल कैलाशमानसरोवर जाने भारतीय धार्मिक पर्यटकदेखि पश्चिम नेपालमा आउने अन्य आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर सञ्चालन गरिएको थियो ।
भुकम्पबाट जोगाउन तथा सबै कोठा, रेष्टुरेन्ट, कन्फरेन्स हलमा उत्तिकै हावा र उज्यालो होस् भनेर होटलको भवन अक्टागनल डिजाईन अर्थात अष्टकोण शैलीमा बनाईएको छ । अक्टागनल शैलीमा बनेका होटलका भवनहरु नेपालमै बिरलै मात्र पाईन्छ । सीपमा चढेको महशुस हुने किसिमको क्रुज बार पनि होटलको अर्को बिशेषता हो ।
अपाङ्गमैत्री समेत रहेको सो होटलमा ३२ सय स्क्वयार फिटको स्विमिङ पुल, दुईवटा बार, तीन वटा सेमिनार हल र तीन वटा ब्यांकेट हल रहेका छन् ।
त्यस्तै होटलमा स्पा, जिम, योगा, सपीङ कम्पलेक्स, बेकरी लगायतको सुविधा रहेको छ । होटलमा स्वीट र डिलक्स गरी ७५ वटा कोठा छन् । जसमध्ये १९ वटा सुपर डिलक्स, ५० वटा डिलक्स, एउटा प्रिसिडेन्सियल स्वीट, एउटा एक्जिक्यूटिभ स्वीट र चार वटा जनरल स्वीट रुम रहेका छन् ।
कैलाश मानसरोवर जाने प्रमुख ट्रान्जिट प्वाइन्ट नेपालगन्ज बनेको र भारत उत्तर प्रदेश सरकारले आगामी बर्षदेखि हजारौंको संख्यामा मानसरोवर जाने धार्मिक पर्यटक पठाउने प्रतिवद्धता जनाएपछि होटल खुल्ने क्रम झनै बढेको हो । यद्यपी कोरोना कहरले होटल व्यवसाय धरासायी बनाएको छ ।