नेपालगन्ज २ साउन : वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएसंगै बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम अगाडी बढ्ने नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिएका छन् ।
‘पूर्वाधार निर्माण अगाडी सम्पन्न गर्नुपर्ने सम्पूर्ण काम पुरा भए ।’ अर्थपेजसंग कुराकानी गर्दै बस्नेतले भने–‘अब चालू आर्थिक वर्षभित्रै पूर्वाधार निर्माणको काम शुरु गर्छौ ।’
जग्गा सम्बन्धी बिवाद, डिपिआरदेखि इआइएसम्मका सबै काम सम्पन्न भएका छन् । केही जग्गाको विषयमा समाधान खोज्न बाँकी रहे पनि त्यसले पूर्वाधार निर्माणको काममा अवरोध नहुने बस्नेतले बताएका छन् ।
बस्नेतले भने,–‘थोरै जग्गाको समस्या हो त्यसलाई फिल्डमै गएर समाधान गर्छौ । यद्यपी अहिले कुनै पनि बिवादले पूर्वाधार निर्माणको काममा रोकावट पैदा गर्दैनन् ।’
आवश्यक प्रक्रिया पुरा गरेर अब काम सम्पन्न गर्ने तहसम्म आइपुग्दा खुःसी लागेको बस्नेतले बताएका छन् । ‘पश्चिमको आर्थिक विकासका लागि यो महत्वपूर्ण औद्योगिक क्षेत्र हो । यसले पक्कै सबैलाई खुःसी दिएको छ ।’– बस्नेतले भने ।
उनले नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि बजेटको कुनै समस्या नहुने जानकारी दिए । बस्नेतले भने,–‘बजेटको समस्या छैन । बहुवर्षिय योजना भए पनि दुई वर्षभित्र काम सक्ने हाम्रो योजना छ ।’
औद्योगिक क्षेत्र स्थापना प्रक्रिया चालेको तीन वर्षपछि बुधवार वन तथा वातावरण मन्त्रालयले इआइए स्वीकृत गरेको हो । करीब ३३८ बिघा क्षेत्रफलमा स्थापना हुने औद्योगिक क्षेत्रमा नेपाल सरकारको योजनाअनुसार प्रत्यक्ष रोजगारको अवस्था सिर्जना हुने करीब २०० बढि ठूला र मझौला उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ । यद्यपी त्यहाँ बसोबास गर्ने सुकुम्बासीलाई जग्गा दिदा औद्योगिक क्षेत्रको क्षेत्रफल घटेको छ ।
अहिले नेपालगञ्ज बजारको मध्यभागमा सञ्चालनमा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रका कारण प्रतिकूल वातावरणीय प्रभाव परेका कारण पनि शहर बाहिर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बाध्यतात्मक परिस्थिति सिर्जना भएको हो ।
नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेको उद्योगबाट निस्कने धँुवा र मेशिनको चर्को आवाजका कारण औद्योगिक क्षेत्र सार्नुपर्ने माग वर्षौंदेखि उठ्दै आएको थियो ।
बाँकेको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र स्थापना भएपछि नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योग आवश्यकताअनुसार त्यहाँ स्थानान्तरण गर्न सकिन्छ । नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भयो भने यसले प्रदेश नं ५, ७ र कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने र वस्तु उत्पादनमा मुलुक केही हदसम्म आत्मनिर्भर पनि हुने विश्वास गरिएको छ ।