बैंकमा सेवाग्राहीका दुःख : भित्र सामाजिक दुरी, बाहिर भिडभाड


फाइल तस्विर

नेपालगन्ज ५ असार :  कोरोना संक्रमण रोक्नका लागि नेपालगन्जका बैंक तथा वित्तीय संस्थाले बिभिन्न स्वास्थ्य सुरक्षा उपाय अपनाएका छन् । तर सेवा सहजताका लागि बैकिल्पक उपाय नअपनाउँदा सेवाग्राहीले दुःख पाउन थालेका छन् ।

एकातिर सीमित कर्मचारीका भरमा बैंक चलेका छन् । उनीहरुले दिने सेवा निकै सूस्त छ । त्यसको मारमा यहाँका सेवाग्राही पहिलेदेखि नै पर्दै आएका थिए । कोरोना कहरमा समस्या झनै बल्झियो । कोरोनाबाट जोगिन अपनाएका स्वास्थ्य सुरक्षाका विषय भएकाले सेवामा ढिलासुस्ती भए पनि बोल्ने कोही भएन ।

अर्को तर्फ भित्र बस्ने ठाउँ नहुँदा सेवाग्राही चर्को घाममा बैंकको बाहिर लाइन लाग्नुपर्ने बाध्यता छ । त्रिभुुवनचोकको एउटा नीजि बैंकका सेवा लिन पुगेका सेवाग्राहीले भने,–‘अधिकांस बैंक साना कोठामा चलेका छन् । थोरै सेवाग्राही भित्र पस्ने बित्तिकै भिडभाड भइहाल्छ । अहिले सामाजिक दुरी राख्दा त झन् ठाउँ नै हुँदैन । बाहिर नै लाइन लाग्नुपर्छ ।’

कर्मचारीको कमी र ढिलासुस्तीले बैंकको सेवा प्रभावकारी समेत हुन नसकेको पाइएको छ । अझ बैंकमा भित्र मात्र सामाजिक दुरी अपनाइएको छ । बाहिर भने उस्तै भिडभाड छ । त्यसले पनि कोरोनाको जोखिम बढाएको छ । यद्यपी यहाँका बैंकका कर्मचारीमा गरिएको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको नमूना संकलन गरिएका मध्ये १ सय १७ जनामा कोरोनो रिर्पोट नेगेटिभ आएको छ ।

केही दिन अघि नेपालगन्जको राष्ट्र बैंक कार्यालयमा स्वाब संकलन गरिएको थियो । त्यस मध्ये सबैको रिर्पोट नेगेटिभ आएकोप्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । बैंकमा अग्रभागमा रहेर काम गर्ने कर्मचारीको स्वाब परीक्षण गरिएको थियो ।

कुनै बेला कोरोनाको हटस्पट भएको नेपालगन्जका बैंक तथा वित्तीय संस्थाले जोखिम उठाएर समेत सेवा दिएका थिए । बिभिन्न स्वास्थ्य सामाग्रीको अभाव झेल्दै कर्मचारीहरु काममा खटिएका थिए । उनीहरुको रिर्पोट नेगेटिभ आएपछि भने खुःसी भएका छन् । यद्यपी सेवाग्राही भने चर्को घाममा बाहिर लामबद्ध बस्ने गरेका छन् ।

प्रकाशित मितिः     ५ श्रावण २०७७, सोमबार ०९:३४  |