नेपालगन्ज १० साउन : नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली स्थायी कमिटि सदस्य तथा ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको आन्तरिक विवादका रुपमा उठेको नक्सा प्रकाशित गर्ने विषयको जश लिन खोजेको भन्दै प्रचण्डलाई प्रश्न उठाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत पोखरेलले कालापानी विवाद पुरानै भएको तर आफू प्रधानमन्त्री हुँदा थाहा नपाउनेले अहिले आफूले गरेको भनेर कसरी भन्न सकेको भन्दै प्रश्न उठाउनुभएको हो ।
शुक्रबार ललितपुरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो अध्यक्षतामा भएको वैठकमा निर्णय गरेर सरकारलाई निर्देशन दिएको स्मरण गर्दै नीति तथा कार्यक्रममा समेत नभएको विषय सोही दिन बसेको सचिवालय वैठकबाट थप गरिएको बताउँदै एकल जश लिने प्रयत्न नगर्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो ।
प्रचण्डको अभिव्यक्ति आए लगत्तै मुख्यमन्त्री पोखरेलले दिएको अभिव्यक्ति प्रचण्ड लक्षित भन्ने बुझिए पनि लाक्षणिक रुपमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत एकै वाक्यमा पोखरेलले नैतिक प्रश्न उठाउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा निर्णय गरेपश्चात एकल जश लिइएको भन्दै पार्टी संस्थागत रुपमा विधि र प्रक्रियासम्मत चल्नुपर्ने भन्दै नेपाल खनाल र प्रचण्डले समूह बनाएर ओलीलाई दवाव दिईरहनुभएको छ ।