नेपालगञ्ज, साउन १२ गते । संघीय राजधानी काठमाण्डौको विमानस्थलपछि सबै भन्दा बढी उडान हुने नेपालगञ्ज विमानस्थलको स्तरोन्नति कार्य अन्तगरत निर्माण भैरहेको विमान पार्किङस्थलको निर्माण कार्य पुरा भएको छ ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बन्दाबन्दीको समयमा पनि निरन्तर निर्माण कार्य जारी राखिएकोले जहाज पार्किंगस्थल निर्माणको काम पुरा भएको बताउनु भयो ।
उहाँले जहाज पार्किंगस्थल निर्माणको काम पुरा भैसकेकोले केही समयपछि सो पार्किंगस्थललाई औपचारिक रुपमा सञ्चालनमा ल्याइने बताउनु भयो ।
प्रमुख ठाकुरका अनुसार काठमाण्डौपछि सबैभन्दा बढी उडान हुने नेपालगञ्ज विमानस्थलमा जहाज पार्किंगका लागि प्रयाप्त पार्किंगस्थल नहुँदा जहाज राख्न निकै समस्या भैरहेको थियो । सोही समस्यालाई दृष्टिगत गरेर पार्किंगस्थल निर्माणको कामलाई अगाडी बढाईएको थियो ।
नेपालगञ्ज विमानस्थलका एटीसी प्रमुख योगेन्द्र कुँवरले पार्किंगस्थलकै अभावका कारण धेरै पटक जहाजहरुलाई आकाशमै होल्ड गराएर राख्नु पर्ने बाध्यता अब अन्त हुने बताउनु भयो ।
उहाँले विमानस्थलमा नियमित उडानहरु शुरु भएपछि पार्किंगस्थलको अभाव हुने भएकोले तयार गरिएको यो पार्किंगस्थललाई छिटै सञ्चालनमा ल्याउनु पर्ने आवश्यकता औल्याउनु भयो ।
उहाँले काठमाण्डौ–नेपालगञ्ज दिनभरिनै उडान भैरहने तथा पहाडी र हिमाली जिल्लामा विहान र अपरान्ह मात्र उडान गर्नु पर्ने भएकाले विमानस्थलमा जहाजहरु पार्किंग गरेर राख्न निकै समस्या हुने गरेको बताउनु भयो ।
एटीसी प्रमुख कुवँरले भन्नुभयो–‘अब पार्किंगस्थल निर्माण भैसकेकोले सो सञ्चालनमा आएपछि जहाज राख्न समस्या नहुने भएको छ, विमानस्थलको स्तरोन्नतीमा प्रयाप्त पार्किंगस्थल आवश्यक हुन्छ’ ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जका अनुसार निर्माण गरिएको पार्किङस्थलमा ८ वटा एटीआर ७२ विमान लगायत अन्य साना धेरै जहाजहरु पनि त्यहाँ सहज रुपमा पार्किङ गर्न सकिनेछ ।
तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्वर्गिय रवीन्द्र अधिकारीले सो पार्किङस्थलकोे शिलान्यास गर्नु भएको थियो ।
उक्त पार्किङस्थल निर्माणका लागि २८ करोड ५३ लाख ४० हजार ९ सय ४३ रुपियाँमा निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालि मैजुबहाल काठमाडौंसँग सम्झौता भएको थियो ।
यसैविच नेपालगञ्ज विमानस्थलको स्तरोन्नती गरेर विदेशमा समेत उडान शुरु गराउने उदेश्यका साथ तयार गरिएको विमानस्थलको ‘मास्टर प्लान’ अनुसार पनि केही कामहरु अगाडी बढेको नागरिक उड्डयन कार्र्यालयले जनाएको छ ।
नेपालगञ्ज विमानस्थलबाट नेपाल एअरलाइन्स, श्री एअर, सौर्य एअर, बुद्ध एअर, तारा र गोमाले काठमाण्डौ लगायत कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी जिल्लाहरुमा उडान भर्दै आएका छन् ।
यहाँबाट संघिय राजधानी काठमाण्डौं बाहेक रुकुमको चौरजहारी र सल्ले, मुगुको ताल्चा, डोल्पा, हुम्ला, जुम्ला र बाजुरामा उडान हुने गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।