गत आवमा नेपालगन्ज भन्सारबाट कुन क्षेत्रबाट कति राजश्व असुली भयो ?


नेपालगन्ज १३ साउन : पेट्रोलियम पदार्थको आयात घटेपछि नेपालगन्ज भन्सार कार्यालयलाई एक अर्व १० करोड ८९ लाख ९१ हजार रुपैँया कम राजस्व घाटा भएको छ ।

लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत घट्दा आर्थिक बर्ष ०७६–०७७ मा हाई स्पिड डिजेल आयातबाट ८९ करोड १२ लाख ७३ हजार रुपैँया राजस्व घाटा भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए ।

आर्थिक बर्ष ०७५/०७६ मा तीन अर्व २३ करोड ३५ लाख ११ हजार रुपैँया राजस्व संकलन भएको थियो, तर गत आवमा दुई अर्व ३४ करोड ३३ लाख ३८ हजार रुपैँया राजस्व संकलन भएको छ । पेट्रोलतर्फ ५८ करोड २९ लाख रुपैँया कम राजस्व संकलन भएको बताउँदै उनले खाना पकाउने एलपी ग्यासतर्फ ११ करोड ८१ लाख ९३ हजार रुपैँया कम राजस्व संकलन भएको बताए ।
हवाई इन्धनको राजस्व संकलनमा पनि कमी आएको प्रमुख भन्सार अधिकृत निरौलाले बताए । उनले हवाई इन्धन आयातमा चार करोड १२ लाख ३४ हजार रुपैँया घाटा भएको बताए ।

त्यसैगरि, सिमेन्ट क्लिङ्करको आयात घट्दा राजस्वमा प्रत्यक्ष असर परेको छ । आव ०७५/०७६ को तुलनामा गत आवमा सिमेन्ट क्लिङ्कर तर्फ १५ करोड ६३ लाख ९६ हजाररुपैँया राजस्व घाटा भएको निरौलाको भनाई छ ।

भन्सार कार्यालयका अनुसार, तामाको धुला आयातबाट तीन करोड ४४ लाख ४० हजार रुपैँया तथा फर्निचरका सामग्री, फ्रिज लगायत अन्य स्टिलका सामग्री आयातबाट ११ करोड ७४ लाख ५९ हजार रुपैँया राजस्व घाटा भएको भन्सार कार्यालयले जनाएको छ ।
चिसो पेय पदार्थ तथा अन्य कार्वन आयातमा पनि कमी भएको छ । यी बस्तु आयातबाट ५५ लाख ५९ हजार रुपैँया र अटो रिक्सा
(तीन पाङ्ग्रे) आयातमा चार करोड ४९ लाख ८८ हजार ५७६ रुपैँया कम राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ ।

तर, लकडाउनले खाद्यन्न र तरकारी आयातबाट हुने राजस्वमा कुनै असर नपरेको प्रमुख भन्सार अधिकृत निरौलाले बताए । उनले आव ०७५/०७६ को तुलनामा चामल आयातबाट १० करोड ९६ हजार रुपैँया राजस्व बृद्धि भएको बताए ।

त्यसैगरि, फिनिसिङ सेरामिक्स आयातबाट चार करोड ६९ लाख ६८ हजार, र चिनी आयातबाट ४९ करोड ९६ लाख ६६ हजार तथा तीन करोड ५५ लाख ६८ रुपैँया बढि राजस्व संकलन भएको छ । आलु आयातबाट दुई करोड २६ लाख २७ हजार र तोरीको विउ आयातबाट आव ०७५/०७६ को भन्दा गत आवमा आठ करोड ५५ हजार रुपैँया बढि राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः     १३ श्रावण २०७७, मंगलवार १४:२१  |