आठौं राष्ट्रिय खेलकुदमा बनेका करोडौंका संरचनाको संरक्षण छैन


–‘यस्ता अमुल्य खेल संरचना बनाउन वर्षौ लाग्छ । त्यसको संरक्षणमा गम्भीर बनौं ।’ – भिम ओली

–‘अहिले जम्मा चार जनाबाट रेखदेख र संरक्षणको काम भइरहेको छ । जथाभावी उम्रेका झार फाल्न सबै तहका कर्मचारी परिचालन गर्नुपर्नेसम्मको बाध्यता छ ।’–महेश चन्द

बाँके १५ साउन :  एक वर्ष अघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्ज रंगशालामा ५० करोड बढि लागतमा खेलकुद सम्बन्धी संरचना निर्माण भए ।

अन्तर्राष्ट्रिय मापदण्डको स्विमिङ पुल, बर्मुडा घाँससहितको अत्याधुनिक फुटवल मैदान, पाँच सय दर्शक क्षमताको जी स्ट्याण्डर्डको भिआइपी प्यारापिट, भारोत्तोलन एकेडेमी, सुटिङरेन्ज नेपालगन्ज रंगशालामा निर्माण भई संचालनमा छन् । तर यि पूर्वाधारको रेखदेख गर्न राष्ट्रिय खेलकुद परिषदले बजेट र जनशक्तिको व्यवस्था नगर्दा अमुल्य संरचना कवाडमा परिणत हुने चिन्ता बढेको छ ।

हेण्डबल, पार्केटिङसहितको भलिबल, हेण्डबल र बास्केटवल कोर्ट पनि रंगशालामा निर्माण भएका छन् । पूर्वाधारको रेखदेखका लागि जनशक्ति र बजेटको व्यवस्थापन गर्न क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले राष्ट्रिय खेलकुद परिषदलाई पत्र पठाइसकेको छ । तर पत्र पठाएको महिनौ बित्तिसक्दा समेत कुनै चासो छैन । क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द भन्छन्–‘यहाँ बनेका पूर्वाधारको सुरक्षा र रेखदेखका लागि आवश्यक पर्ने जनशक्तिका विवरण पठाइएको थियो । तर सुनुवाई भएको छैन । ठिक त्यहीबेला नयाँ खेलकुद ऐन पनि आएकाले काम अगाडी नबढेको पो हो की ?’

खेलकुदको पूर्वाधार संरक्षणका लागि कर्मचारीको व्यवस्थापन गर्न ढिलाई भएको बताउँदै कार्यालय प्रमुख चन्दले भने,–‘बनेका पूर्वाधार संरक्षण कसरी गर्ने भन्ने विषयमा बन्नु भन्दा पहिल्यै टुङ्गो लगाउनुपर्नेमा एक वर्ष बित्दा समेत चासो दिइएको छैन । अहिले जम्मा चार जनाबाट रेखदेख र संरक्षणको काम भइरहेको छ । जथाभावी उम्रेका झार फाल्न सबै तहका कर्मचारी परिचालन गर्नुपर्नेसम्मको बाध्यता छ । ।’

आठौँ राष्ट्रिय प्रतियोगिता सम्पन्न भएपछि रंगशालामा निर्माण भएका संरचना प्रयोगविहिन छन् नै परिषदका पदाधिकारीले चासो नदिँदा करोडौँ खर्च गरेर निर्माण भएका संरचना अलपत्र परेका छन् । कोभिडका कारण खेल गतिविधि केही नभएको र नयाँ खेलकुद ऐनले अन्यौलता सिर्जना गरेको भए पनि अहिले ती दुबै अन्यौलता हटेको छ । अब भने पूर्वाधारको रेखदेखमा ध्यान दिनुपर्ने क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष भिम ओली बताउँन् ।

नेपालगन्जमा निर्माण भएको पौडी पोखरी काठमाडौँ पछिको दोस्रो हो । प्यारापिट, पौडी प्रतियोगिता र अभ्यास खेलका लागि आवश्यक सम्पूर्ण सुविधासहितको भवन पनि तयार भएको छ । झण्डै ५० लाख खर्च गरेर निर्माण भएको उक्त पौडी पोखरी पनि संरक्षण हुन नसक्दा अलपत्र परेको छ । पौडी पोखरी प्रयोगका लागि कार्यविधि तयार गरेर परिषदमा पठाए पनि स्विकृत नहुँदा अलपत्र परेको ओलीले बताए । ओली भन्छन्–‘यस्ता अमुल्य खेल संरचना बनाउन वर्षौ लाग्छ । त्यसैले संरक्षणमा गम्भीर बनौं ।’

यसअघि सदस्य सचिव बनेका रमेश सिलवाल सदस्य सचिव पुन नियुक्त भएका छन् । देशमा निर्माण भएका खेलकुद संरचनाको संरक्षण, सम्बद्र्धन र पुनर्निमार्णको काम सदस्य सचिव मार्फत हुँदै आएको छ । उनले यसअघि कुनै चासो दिएका थिएनन् । नयाँ खेलकुद ऐन बनेकाmे प्रदेशस्तरीय खेलकुद परिषद निर्माण भएकाले नेपालगन्ज रंगशाला कस्को स्वामित्वमा हुन्न्छ भन्ने पनि अन्यौल छ ।

बुटवल टुटेबाट साभार

प्रकाशित मितिः     १५ श्रावण २०७७, बिहीबार ०७:४४  |