आईतवारदेखि लकडाउन, सर्वसाधारणको प्रश्न- शनिवार अघि किन छाडियो ?


बाँके १५ साउन :  बाँकेका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । लकडाउन खुकुलो भएसंगै संक्रमितको संख्या कम हुनुपर्नेमा अझ बढ्यो । बिहीबार एकै दिन २७ जना भन्दा बढि कोरोना सङ्क्रमण पुष्टि भयो ।

आन्तरिक राजश्व कार्यालय, यातायात जस्ता भिडभाडयुक्त सरकारी कार्यालयबाट संक्रमित फैलिएका छन् । संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवारदेखि निषेधाज्ञ लागू गर्ने निर्णय गरेको छ । यद्यपी शुक्रवारदेखि शनिबारसम्म लकडाउन गर्न के कारणले गर्दा रोकियो भन्दै सर्वसाधारणले प्रश्न गरेका छन् ।

त्रिभुवन चोकको एक मिठाई पसलका सञ्चालक र आन्तरिक राजस्व कार्यालयका एक अधिकृतमा सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएकोहरूको परीक्षण गर्दा बिहीबार २७ जना संक्रमित थपिएका थिए ।

त्रिभुवन चोक क्षेत्रबाट बिहीबार १६ जना संक्रमित थपिएको र आन्तरिक राजस्व कार्यालयबाट ११ जना सङ्क्रमित थपिएको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताए ।

उनका अनुसार यातायात कार्यालयका कर्मचारीको सम्पर्कमा आएकाहरूको परीक्षण भइरहेकोले अझै सङ्क्रमित थपिने सम्भावना छ । एकैदिन यति धेरै सङ्ख्यामा समुदायबाट सङ्क्रमित थपिएपछि नेपालगञ्जमा सन्त्रास फैलिएको छ । परीक्षणलाई अझै बढाउनुपर्ने माग बढ्दै गएको छ ।

यसअघि वैशाख १९ गते नेपालगञ्जको वडा नम्बर ८ मा पहिलो सङ्क्रमित भेटिएका थिए भने उनको सम्पर्कमा आएकाहरूमध्येबाट २५ जना सङ्क्रमित भेटिएपछि सो क्षेत्र हटस्पट बनेको थियो । बाँकेका कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले जिल्लामा सङ्क्रमित घटेर २४ जनामा झरेको बेला एक्कासी २७ जना थपिँदा आइसोलेसनमा रहनेको सङ्ख्या ५१ जना पुगेको बताए ।
उनले यसअघि बन्द गरिसकेको नेपालगञ्जस्थित लायन्स डेन्टल हस्पिटलको आइसोलेसन सेन्टर बिहीबारबाट पुनः सञ्चालनमा ल्याइएको बताए । एकै पटक समुदायस्तरबाट धेरैजनामा सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले बाँकेमा फेरी बन्दाबन्दी लगाउने तयारी गरिरहेको जनाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा सङ्क्रमण पुष्टि भएपछि अब त्यसको नियन्त्रण र रोकथामका लागि बन्दाबन्दी लगायतका विभिन्न योजनाहरू बनाइरहेको बताए ।

प्रकाशित मितिः     १५ श्रावण २०७७, बिहीबार १७:२२  |