खजुरा गापाको योजना : बिदेशबाट फर्किएका युवालाई बिना धितो कर्जाका लागि जमानी बस्ने


नेपालगन्ज १७ साउन :  बिदेशबाट फर्किएका युवालाई उद्यमशिलतामा संलग्न गराउन रु १ लाखदेखि १० लाखसम्मको बिना धितो कर्जाका लागि खजुरा गाउँपालिका जमानी बस्ने भएको छ ।

गाउँपालिकामा प्रत्येक वर्ष सय जना उद्यमी बनाउने लक्ष्य सहित त्यस्तो योजना चालू आर्थिक वर्षदेखि शुरु गर्न लागेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् ।

यस सम्बन्धी कार्यविधि तयार भइसकेको र पारित भइसकेपछि कार्यान्वयनमा आउने छ ।

कर्जा प्राप्त गर्न कुनै कठिनाई नहोस् भन्ने उदेश्य राखेर हामी नै जमानी बस्दै छौं । यसका लागि कुनै एक बैंकसंग सम्झौता समेत हुने छ ।- गाउँपालिका अध्यक्ष कक्षपतिले भने-यो कार्यले सानो ऋणका लागि महिनौ धाउनुपर्ने बाध्यताको अन्त्य हुने छ ।

औद्योगिक ग्रामको सूचीमा परेसंगै खजुरा गाउँपालिकामा निजीक्षेत्रको आर्कषण बढ्ने बिश्वास गरिएको छ । आर्थिक वर्ष २०७६र७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेको थियो ।

स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी संचालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रीपरिषद बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरे अनुसार, बाँकेमा खजुरा गाउँपालिका परेको हो ।

उक्त सम्झौता पछि खजुरामा खजुरा गाउँपालिका–६ पुरनैनामा औद्योगिक ग्राम प्रक्रिया अगाडी बढ्ने गाउँपालिका प्रमुख कक्षपतिले बताए । कक्षपतिले भने,–‘औद्योगिक ग्रामले लगानीकर्तालाई खजुरामा आर्कषित गर्ने बिश्वास छ ’ कक्षपतिले औद्योगिक ग्रामको काम ‘फाष्टट्रयाक’ मा गर्नुपर्ने सुझाव दिएका छन् । छिटो भन्दा छिटो काम सकेर सरकारी अभियानलाई सघाउनुपर्ने उनको धारणा छ ।

नमुना गाउँपालिकामा रुपमा स्थापित हुँदै गएको खजुरामा साना ठुला लगानीकर्ता आकृषित गर्न स्थानीय तहले जस्तोसुकै सहयोग गर्ने नीति लिएको गाउँपालिका प्रमुख कक्षपति बताउँछन् । त्यसका लागि औद्योगिक ग्राममा मात्र होइन अन्य ठाउँमा समेत पूर्वाधार विकासका काम भइरहेको उनको भनाई छ । कक्षपति भन्छन्–‘नयाँ नयाँ लगानीकर्ताको आर्कषण भएको पाएका छौं । आगामी दिनमा यसलाई अझ बृद्धि गर्दै लैजान्छौ।’ गाउँपालिका अध्यक्ष कक्षपतिले निकट भविष्यमै लगानी सम्मेलन गर्ने योजना बनाइरहेको बताएका छन् ।

प्रकाशित मितिः     १७ श्रावण २०७७, शनिबार १५:१६  |